
आदरणीय बाँदरगण
पशुपति र स्वयम्भु
काठमाण्डौं ।
विषयः– संविधान बनाइदिनु प-यो भन्नेबारे
महोदय,
म नास्तिक भएकाले पशुपतिनाथ र स्वयम्भुतिर आउन सकिन । सरी ! यहाँ प्रत्येक नेताहरु भन्छनः– देश बर्बादीतिर जाँदैछ । ठीक हो । मलाई पनि त्यस्तै लागेर यहाँहरुलाई यो निवेदन लेख्दै छु । तपाइहरुको जिउमा बाग्मतिको पानीले लुत्तो सल्केझै देशलाई पनि लुत्तो सल्केको छ । सङक्रमणकालीन लुत्तो । अनी नेताहरुलाई सत्ता र कुर्सीको लुत्तोले छाडेको छैन । तपाइहरुको ताण्डब नृत्य पनि मैले हेरेको छु, त अहिले तपाइहरुलाई समेत माथ ख्वाउने गरी नेताहरु नाचिरहेछन् । उफ्रीरहेछन् । एक अर्कालाई अझ बढी चिथोरी रहेछन् । त्यसैले संविधानसभाले तपाइहरुलाई खोज्दै छ ।
मलाई थाहा छैन तपाई बाँदरगणहरु कत्तिको संख्यामा हुनुहुन्छ ? दुवैतिर गरेर । मेरो मतलब स्वयम्भु र पशुपतिमा दुवै ठाउँमा । सायद जनगणना हुदैन होला तपाइहरुको तिर । हाम्रो तिर जस्तो प्रत्येक दश–दश बर्षको फरकमा । ठीकै छ, मात्र हामीहरुलाई चाहिएको हो ६०१ जना । पुग्दैन र ६०१ जना ? पक्कै पुग्ला । आधा भाले अनि आधा पोथी । सरी , मेरो मतलब आधी ढेडु बांदरहरु र आधी बाँदर्नीहरु वा सुन्दरीहरु । लैङ्गिक समानुपातिकका लागि । हुन त तपाइहरुका पनि धेरै जात होलान् । भएमा यसो छलफल गरेर मिलाउनुस न । खासमा अहिलेको टड्कारो आवश्यकता त्यही ६०१ सभासद नै हो ।
आहा ! खुसी लागेन पढ्दा पढ्दै यो पत्र । बधाई छ तपाइहरुलाई ! किनकी सही गुण छ तपाइहरुमै सभासद बन्ने । त एउटा कुरो तलबका बारेमा । होतनी, बाँदरले पैसा खाने कुरा आंउदैन क्यारे । ठीक सोच्नु भाछ । पैसाको सट्टामा केरा, स्याउ, सुन्तला, चामलको पोका, अनि नरीवल । एउटा उखान पनि छ –“बाँदरको हातमा नरीवल” । यो त साह्रै पुरानो उखान हो । त मेरो जिवाको पालाको उखान । ट्वान्टी फस्ट सेञ्चुरीमा बाँदरहरुले नरीवल खान जानीसकेका छन् । बरु यसो भन्नु पो ठीक होला –“नेताको हातमा देश !”
तपाइहरुको काम ? उफ ! उस्तै हो क्या उस्तै , जस्तो तपाइहरु अहिले आफ्नो बासस्थानमा गरिरहनुभाछ । फरक यत्ति हो कि तपाइहरु अब नयाँ बानेश्वरको संविधानसभा हलमा बस्नुपर्नेछ । यद्यपी भांच्ने कुराहरु अलि फरक छन् । कलम कापी, कम्प्यूटर, टेवल, कुर्सी, माइक्रोफोन, क्यामेरा । पख्नुस् !! क्यामेरा र रेकर्डर चाँही फुटाउन पाउनुहुन्न तपाइहरुले । किनकी त्यतिवेला प्रेस स्वतन्त्रता हनन् हुनेछ । क्यामेरा फुटाएमा कसरी देखाउने तपाइहरुको चकचक टि.भीमा । कसरी सुनाउने तपाइहरुको ङ्यार–ङ्यार, ङुर–ङुर रेडियोमा । कसरी छाप्ने तपाइहरुको फोटो पत्रिकामा । यो कुरालाई बढो हेक्का राख्नुहोला ।
अरु कुरा त खासमा गौण हुन । मुख्य कुरो अव नेपालको संविधान बनाउने जिम्मा तपैहरुले लिनु प¥यो । खास कुरो यही हो । यति गर्दिनुभयो भने तपाइहरुको जय ! पशुपति र स्वयम्भुबाट जुन दिन तपाइहरु बानेश्वर आइपुग्नु हुन्छ त्यही दिन हामी यि छेपारे नेताहरुलाई पशुपति र स्वयम्भु तिर लखेट्ने छौ । हजुरहरुको जो विचार ।
“बाँदर सभासद जिन्दावाद !
नेता सभासद मूर्दावाद !”
निवेदक
सम्पूर्ण नेपाली जनता
नरनाथ लुइटेल संपादित सम्पूर्ण हाँस्यब्यङ्ग्य मासिक फित्कौली को २० औं अंकमा प्रकाशित
।
No comments:
Post a Comment