Monday, December 26, 2011

पुसको पाहारमा बसेर दारी काट्नुको मज्जै बेग्लै

जतिबेला म चौध बर्षको उमेरमा हिड्दै थिँए । सुकोमल ओठमाथि अलि–अलि कैला रौँहरु आउन थाले । दारी–जुँगा आउनु नै त्यतिबेला यस्तो भयो मानौँ जिन्दगीमा अब अरु खुसीका कुनै दिन यसरी आउने छैनन् । सानै देखि ठूला मान्छेहरुले दारी काटेको देख्दा मेरो दारी कहिले आउला भने जस्तो लाग्थ्यो । त्यसरी दारी काट्ने दिनको प्रतिक्षा गर्दै बच्चामा दारी काट्ने खेल पनि खेलियो । अब अलि–अलि रौ आइदिएपछि त के चाहियो र ? शूरु भैहाल्यो ब्लेड लगाएर अनुहार खुर्किने काम । तर यो दारी भन्ने चिज त बढो मप्पाको पो हुँदो रहेछ । जति जति खुर्कियो उति उति आउने । ब्लेडको तिखो धार रगड्दा–रगड्दा यो बिचरा गाला नै गैडाको छाला झैँ बन्न पुग्दो रहेछ । २० वर्षको मान्छे पच्चिस बर्षको जस्तो, २५ वर्षको मान्छे ३०–३५ वर्षको जस्तो । उता जनजाति मित्रहरुलाई हेर्ने हो भने उनीहरुको बास्तविक उमेर भन्दा पनि निकै कम उमेरका झै देखिन्छन् । एउटा रौ पनि नउम्रने सुकोमल जनजाती गालाहरु । देवकोटाले एउटा उनको निबन्धमा लेखेका छन्–“मगरको नास्ति दारी न जुँगा ।” उनलाई पनि दारी जुँगाले रुवाएको हुनुपर्छ र लेखे होलान यस्तो ।
शुरुमा ऐना हेर्दै, मुसुक्क मुस्कुराँउदै दारी काट्न बहुतै मज्जा लागेर आयो । तर पछि–पछि...उफ..!! आज काट्यो भोली नै फेरी पुरै अनुहार भरी काला दह्रा–दह्रा रौका ठुटा ठुटी पलाएर आइहाल्ने । धारीलो ब्लेड नलगाँउ त अनुहार पुरै फोहोर देखिने, लगाँउ त कति लगाँउ ? हे प्रभु...हे अल्लाह... हे महादेबकी वाइफ पार्बती.........................................। यसको मतलब बहुतै वाक्क दिक्क लाग्दो । कहिले काँही दारी काट्दा यस्तो लाग्छ, कि म केटी भएर जन्मन पाएको भए दारीको यस्तो ताडना–यातना त सहनुपर्ने थिएन् ।
आज क्रिसमस मनाइरहेछन् शहरमा । ह्याप्पी मेरी क्रिसमस भन्दै । लौ लौ तिम्री नै क्रिसमस !!
मेरी क्रिसमस नभनेर हाम्री क्रिसमस भने पनि त जाति नै हुँदो हो नी । जे सुकै भनुन् । बुद्ध हुन कि शिब, यशू हुन कि अल्लाह । आफू त यिनीहरु कसैसँग मागिँदैन सल्लाह । गरिन्छ काम, नत्र पाइन्न माम । जतिसुकै भगवान अलापे पनि आफुले काम नगरीकन यहाँ केही हुने हैन क्यारे ।
आज बिदा थियो । पुसको पहारिलो, न्यानो घाममा बसेर विधी र प्रक्रिया पु¥याएर आनुहारको दारी फडानी कार्यक्रम भब्यताका साथ सम्पन्न गरियो । कथित बाहुन भएको हुनाले पनि होकी यो दारीले यतिबिधी सताएको । बिचरा जनजातीहरु दारी जुँगाको रहर गर्छन् । तर फेरी यिनै जुँगा दारी टन्न आँउने जातिमाथि गालीको पर्रा बर्साउछन् । बाहुनले आदीबासी जनजातीमाथि थिचोमिचो ग¥यो रे । लामो नाक र टन्न दारी देख्नेबित्तिकै यो गैह्र जनजाती रहेछ भन्न थालिसके यो लोकतन्त्रमा । बाहुन हुनु अन्याय हो अथवा अन्यायको प्रतिक हुनु हो ?? तराइबासी मधेशी पनि भन्छन–“पहाडिया बाहुनहरुका अन्यायका कारण मधेश आज रोइरहेछ ।” हो हो रोइरहेछ । तराई मधेशमा त पहाडबाट पानी नझेर पनि त्यहाँको विशााल मैदानमा टन्न सिँचाई गर्न सकिन्छ हगि ? त्यै रोएको आँशुले । उनीहरु भन्छन, अब सरकारी जागिरमा बाहुनलाई बाइकट गर्नुृपर्छ र त्यहाँ जनजाती र मधेशीका लागि स्थान छुट्टाउनुपर्छ । वाह..म..वाह...। मैले त न कुनै जनजाती मित्रलाई अन्याय गरेको छु न त कुनै मधेशी दाजुभाइलाई नै । तर पनि यस किसिमका जातिय र क्षेत्रिय चिन्तनले गर्दा आज यो देशलाई साह्रै कष्ट भैरहेछ । मलाई दारी काट्न दिग्दार लागेझै ।
आसा गरौ यो देशमा पनि सदा सर्बदा पुसको पहारिलो घाम लागिरहने दिन आउने छ ।
आज घाममा बसेर आनन्द सँग दारी त काटियो, पर्सि त फेरी जत्तिको तत्तिनै भैहाल्छ । तर जे भएपनि पुसको न्यानो घाममा बसेर दारी काट्दा कति आनन्द आँउछ , त्यसको अनुभव न दारीजुँगा नभएका जनजातीहरुले गर्न सक्छन न त कुनै महिलाजनहरुले नै । अस्तु ।
२०६८ पौष १०, ललितपुर ।

Friday, December 23, 2011

पहिलो डेरा-ग्याँस र नाइटो

गाँउबाट शहर छिरेको तेस्रो दिन ।
वा,
काठमाडौको एउटा गाँउबाट शहर छिरेको, मध्यपुर ठिमी नगरपालिका, भक्तपुरको पहिलो डेरा बसाई । सोह्र वर्षको थिँए ।
नमज्जा सँग मट्टितेलको स्टोभ बिग्रीयो । बेलुकासम्म त झ्यार्रर्रर्र्र गरेर बल्थ्यो । बिहान बालेर हेर्दा राँको मात्रै बल्न थाल्यो । बर्नरको सानो प्वालमा जति पिनले घोचे पनि काम लागेन । खाली कालो पिरो धुँवा मात्र आइरह्यो । घरमा त त्यै चिसो दाउरा परेको बेलामा मात्रै पिरो धुँवा हुन्थ्यो ।
मट्टितेलको भाउ पनि भर्खरै बढेको थियो । डर लाग्यो । त्यही अनुपातमा स्टोभ बनाएको ज्याला पनि बढ्ने होला । तै पनि दम दिएर हेरिरहेँ । झ्यार्रर्र्र बल्दे कस्तो मज्जा हुन्थ्यो । राँको बल्दा भाँडा पुरै कालो कालो हुन्छ । अझै यो भन्दा पनि अर्को डर । भाँडा भन्दा पनि धुवाले घरबेटीको कोठा बढी कालो हुन्छ । यस्तै लागे डरहरु ।
कोठा खाली होला हजुर भनेर सोध्दै गएको पहिलो दिन घरबुढीले सोधेकी थिइन– “ग्याँस छ कि छैन भाई ? नत्र त कोठा दिने गरेको छैन हामीले ।” त्यतिबेला ग्याँसको प्रचलन अलि कम थियो कि । मैले उनको प्रश्नको उत्तर मुख खोलेर दिन सकिन । मनमनै मात्र भनेँ–“ग्याँस छैन कसरी भनुँ , ग्याष्टिकको रोगी हुँ, पेट हुँडुँलिएर बेला–बेला नजिक बस्नेको नाकमा भूकम्प ल्याँउने ग्याँस निस्कन्छ ।”
नयाँ ठाँउ, स्टोभ कहाँ बनाइन्छ, केही थाहा थिएन । हातमा थोत्रो स्टोभ लिएर बजार बजार डुलियो । बल्ल तल्ल गड्ढाघरको साइकल मर्मत गर्ने एउटा पसलमा स्टोभको जिर्णोदार भयो ।
प्रसङ्ग भुकम्पकै ।
घरबेटीकी छोरीको नाइटो । आठ रेक्टरस्केलको भुकम्प ल्याउने किसिमको थियो । त्यसै भन्थे पल्लो कोठामा बस्ने साथीहरु । घरबेटीकी छोरी स्वर्गकै परी हो । पढ्न अल्छी लागेपछि उनीहरु आफ्नो कुरा शुरु गर्थे । घरबेटी चाँही राक्षसनी हो । दैत्यकी स्वास्नी हो । चौथो कोठामा बस्नेले भन्यो–स्वस्थानी कथामा आउने मय दानवकी छोरी हो हाम्री घरबेटी आमै । दोश्रो कोठामा बस्नेले विवाद निकाल्यो–हैन हैन रावणकी कान्छी बहिनी हो हाम्री घरबेटी आमै । जुन दानवकी छोरी भएपनि घरबेटी बुढी राक्षसनी हो भन्ने कुरामा सबैको एकमत हुन्थ्यो । तर कसरी जन्मी त्यो स्वर्गकी परी ? सबै अच्चम प्रकट गर्थे । सायद उनको पाठेघर र योनी विशेष प्रकारको थियो ।
हाँसोले त्यो घरको अन्तिम फ्ल्याट टन्नै भरिन्थ्यो ।
उनको एउटा विशेष शैली नै रहेछ–जे कपडा लगाएपनि नाइटो देखाएर हिड्ने । सायद उनको परिवारमा पनि उनको त्यो शैली पचिसकेको थियो । तर मलाई भने बढो अप्ठ्यारो लाग्थ्यो । घरबेटीकी छोरी बेला न कुबेला सलाई वा लाइटर माग्न आउथिँन । नाइटो देखाउनै पथ्र्यो उनलाई ।
हरे !...............
लाज बहुतै लागेर पानी पानी बनिन्थ्यो । सलाई त लैजाउन बरु माग्न नआउन ।
सायद उनी त्यतिबेला प्स टु कलेज पढ्थिन । उनलाई सोध्ने आँट गरिएन् । किनकी उनको तेश्रो आँखा सँग आफ्नो आँखा जुध्ला भनेर डर लाग्थ्यो । उनको नाइटोलाई हामी डेरावालहरुले तेश्रो आँखा नामाकरण गरेका थियौँ ।
एकदिन ।
सोली थिएन । स्टोभको पुन्टे ट्याङ्कमिा मट्टीतेल हाल्दै थिँए । एक चौथाई जति पोखियो । बाउले पसिना चुहाएर पठाएको पैसाबाट किनेको मट्टितेल पो गाँठ्ठे । एकछिनमै घरबेटीकी तिनै छोरी नाक थुन्दै आइन–”कुन कोठाबाट हो यस्तो मट्टितेल गन्हाएको, छ्या छ्या... ।” मेरो कोठामा हेरेर बारुले कम्मर मर्काउदै फर्केर गइन् ।
मैले भुँइमा सलाई कोरेर आगो लगाइदिँए । भुँइको मट्टितेल बल्दै थियो । मय दानवकी छोरी हुन वा रावणकी कान्छी बहिनी–घरबेटी बुढी ढोकामा आइन । “लौ हेर...हेर, घरै बाल्दिन लाग्यौ कि क्या हो भाइ तिम्ले त । मट्टितेल खन्याएर आगै सल्काएर । हेर..हेर गनाको । पुरै घर मट्टितेल गनायो भनेर छोरी सेन्ट छर्किदै छे । हिजो मात्रै बाउले पानसे हालेर ल्याउको सेन्ट सक्न लाइसकी । ग्याँस ल्याउनुपर्छ भाई ग्याँस । आको ४÷५ दिनमे के कोठा छोड भन्नु । यसरी त हुँदैन भाई । मट्टितेल बाले पनि नगन्हाउने तरिकाले पो बाल्नु पर्छ त ।”
ट्वाँ..................................।
मैले उनलाई ट्वाँ परेर क्वारक्वार्ती हेरीरहेँ । यति फतफताएर उनी हिँडिन ।
मैले सानो आवाज आउने गरी स्टोभ झ्यार्रर्र पारेँ अनि भात र एक भल्को तरकारी उमालेर छ÷सात घण्टा सम्मको लागि स्टोभबाट बिदा लिँए ।
खासमा म एस.एल.सी सकेर पढ्न आएको थिँए । सोह्र वर्ष सकेर सत्रमा पाइला चाल्दै थिँए । सानोठिमी शिक्षा क्याम्पसमा अंग्रेजी र नेपाली विषयमा आई.एड्. को कक्षा चलिरहेको थियो ।
सानोठिमी पछाडिको मगरगाँउ ।
तीनतले घर ।
पहिलो कोठामा म थिँए । दोश्रोमा रुकुमको भीमबहादुर खड्का, तेश्रोमा धार्दिङको कुन्नी के जाति तामाङ्ग र चौथोमा गोरखाको पोखरेल र अर्को एउटा साथी ।
तर चारैवटा कोठामा मट्टितेलवाला स्टोभकै आधिपत्य थियो । उनीहरुको स्टोभ राम्रो खालको थियो । मेरो चाँही अलि रोगी बुढो टाइपको ।
घरबेटी बुढी बिहानै गाइको दुध घर–घरमा पु¥याँउथिन । तर त्यसभन्दा अगाडि चार बजे देखि पाँच बजेसम्म उनको भजन किर्तन हुन्थ्यो–
ओम नमो भगवते वासुदेवाय !.......
ओम नमो भगवते वासुदेवाय !!.......
उनी यि प्रत्येक शब्दलाई बढो झोक्का दिएर उच्चारण गर्थिन । यो भजन हाम्रो लागि बिहान उठ्नका लागि एक किसिमको अर्लाम नै भएको थियो ।
उनको श्रीमान रिटायर्ड आर्मी थिए । कानमा सुनको ठुलै पातो झुन्ड्याएकी थिइन् । मट्टितेल सकिएपछि जानूपथ्र्यो ग्यालिन बोकेर गट्ठाघर वा बाहाखा बजारतिर । गोरखाको पोखरेललाई शहरको हावाले छोइसकेको थियो । क्याम्पसमा सँगै पढ्ने गरेका केटीहरु भेट हुन्छन् भनेर उ ठुलो झोलाभित्र ग्यालिन लुकाएर हिँड्थ्यो । म भने हातमै ।
यसरी बजारमा तरकारी लिन वा यस्तै मट्टितेल लिँन जाँदा उ घरबेटीकी छोरीको नाइटोको कुरा गथ्र्यो । उ भन्थ्यो–“त्यसलाई आफ्नो नाइटोप्रति ठूलो गर्व छ यार । त्यसको नाइटोमा हेरीदियो भने मुसुक्क हाँस्छे चन्डाल्नी । तैले कहिल्यै हेरिदिएको छस् ?” उ सोध्थ्यो । छैन यार, मलाई त डर लाग्छ । साँच्चै म त्यो नाइटो देखेर साह्रै डराँउथेँ । मुटु ढुक–ढुक हुन्थ्यो, उनी नजिक आँउदा भागेर टाढा पुगँु जस्तो लाग्थ्यो ।
येनकेन प्रकारेण, मेरो स्टोभ फेरी बिग्रियो । जति दम दिए पनि झ्यार्रर्रर्र गरेर बल्न छोड्यो । आधी भाग झ्यार्रर्र गरेर बल्थ्यो भने आधी भाग पाँचओटा टुकी बत्ति जोडेको जस्तै राँको बन्थ्यो । धुँवा पनि गजबले आँउने र भाँडा पनि उस्तै कालो बन्ने । साथीहरु भन्थे–“बर्नर फेरे ठीक हुन्छ ।” फेरी घरबुढी आएर कराउन थालिन–“यो स्टोभ सिस्टोभ फाल्देउ भाई । यस्तो स्टोभ बाल्नुभन्दा ग्याँस बाल्नुपर्छ । ग्याँस बाल्यो भने आयू बढ्छ । मट्टितेलको धुँवाले आन्द्रामा क्यान्सर पार्छ । अब कि कोठा छोड भाई कि स्टोभ ।”
यति भनेर उनी गइन् ।
त्यसै साँझ पल्लो कोठाको गोर्खालीलाई पनि घरबेटी बुढाले थर्काएछन् । पल्लोकोठाको भीम भन्दै थियो–गोर्खालीले घरबेटीको छोरीको नाइटोलाई एकोहोरो भएर हेरीरहेको घरबेटी बाले देखेछन् । अनि आफू नजिकै बोलाएर सुस्तरी झपार्दै भनेछन् – तैले काँ हेरेको हँ । बरु याँ हेर भन्दै आफ्नो यौनाङ्गतिर देखाएर पठाएछन् ।
उस्को कुराले थुक नै सर्किने हाँसियो ।
बेलुका गोर्खाली मेरो कोठामा आयो र भन्यो– “म त कोठा छोड्छु यार । मेलै भने–“अनि त्यो नाइटो नी ?”
“पर्खि न, त्यसको नाइटोलाई म एकदिन गोबरले टालिदिन्छु ।” उसले हाँस्दै भन्यो ।
त्यसै बेलुका सल्लाह भयो । सँगै मिलेर चारै जनालाई कोठा खोज्ने अनि एकैचोटी सर्ने । ६१ सालको कुरो । त्यस आसपासमा सस्तैमा छ्यालब्याल कोठा पाइन्थ्यो । चारजनालाई चारतिर कोठा खोजेर हामी पालैपालो एक अर्काको झिटीगुन्टा सार्न थाल्यौँ । घरबेटी बुढी रिसले रन्फनिँदै भन्दै थिइन्–“आफ्नै छेरलाई जस्तै कहिलेकाँही गाली गरेँ जस्तैमा रिसाउनुपर्छ त तिमीहरु ! तिमीहरुको अन्त गएरपनि केही भलो हुँदैन”...आदि इत्यादि ।

त्यो भूतपूर्व डेराबाट पाँच मिनेट पर मेरो नयाँ डेरा थियो । सामान सार्दा एउटा गुन्टाबाट थोपा–थोपा मट्टितेल चुहिरहेको थियो । अलि पर पुगेपछि घरबेटीको घर हेरेँ । कौसीमा केही चिज थियो । गोर्खाली पोखरेललाई पनि संकेत गरँे, उसले पनि उतै हे-यो र मुस्कुरायो । त्यो घरको कौसीबाट त्यै एउटी स्वर्गकी परी र उसको नाइटो हामीलाई हेरीरहेको थियो ।

Thursday, December 22, 2011

सम्झि तिमीलाई

सम्झि तिमीलाई मुटु मेरो दुःखाँउ कतिञ्जेल
चोखो माया गुम्साएर लुँकाउ कतिञ्जेल

यो मन त बाँधेकै छु सँगै दुई ओठ पनि
के के कुरा गर्छ आँखा छुपाँउ कतिञ्जेल
चोखो माया गुम्साएर लुँकाउ कतिञ्जेल

नदेखेमा पनि दुख्छ देखे अझै बढी
त्यो नजरले यो मनलाई खोपाउँ कतिञ्जेल

२०६८ पौष ०६
ललितपुर

Friday, October 14, 2011

गर्मिमास ठन्डीमायाँ

गर्मिमास ठन्डीमायाँ दिने मै हो नी
ठन्डीमास गर्मिमायाँ दिने मै हो नी

कहिले काही त बादलभित्र, लुक्नु तिमी म खोजुँला
जुन संग दाँज्न परे, तिमीलाई नै रोजुँला
सुखहरु तिमीलाई नै,दुखहरु बोकी सारा
जस्तोसुकै कठिन क्षणमा, हँसाईदिने मै हो नी
ठन्डीमास गर्मि माया दिने मै हो नी ।

गर्मिमास ठन्डीमायाँ दिने मै हो नी

सानोतिनो गल्ति हँुदा मुस्काईदिनु तिमीले मलाई
यात्राभरी ठेस लागे पुछिदिन्छु आँशु तिमीलाई
सुख–दुख बाँडीचुँडी मिलाईदिने मै हो नी
गर्मिमास ठन्डीमायां दिने मै हो नी

गर्मिमास ठन्डीमायाँ दिने मै हो नी
ठन्डीमास गर्मिमायाँ दिने मै हो नी

२०६५ पौष ०६
जाउलाखेल ।

Saturday, October 01, 2011

मेरो कबिता

पाँच फिट दश इन्च अग्लो
लामो नाक र बाक्लो आँखीभौँ भएको
मेरो एउटा कबिता
लुखुर–लुखुर
हिडिरहेछ म संगै सधैँ–सधैँ

कुन्नी !
किन पछी लाग्छ यो यसरी
मनभरी–भरी
नयाँ–नयाा सपनाकाहरुका
साना तिना पोका पन्तुराहरु बोकेर
के आस गर्छ गर्छ कुन्नी यसले
अँह थाहा छैन
कहाँ सम्म हिड्न सक्छ यो
आँखाभरी सगरमाथाको चुचुरो रोकेर
थाहा छैन
छातीभरी घाउ र जिउभरी ज्वरो
अनि हातमा स्टारलाईन डटपेन बोकेर
थाहा छैन
तर्न सक्छ या सक्दैन यसरी
जिन्दगीका गहिरा तेजावी जंघारहरु
थाहा छैन
कलेटी परेका उसका ओठहरुबाट
निला शिरिषका फूल फुटपाथ भरी झरेझै
झर्नेछ क्नै दिन
उसको त्यो बाँकी मुस्कान
र पुरिनेछ सयौँ–सयौँ खुट्टाहरु मुनी

२०६८ असोज १२
काठमाडौं

Saturday, September 17, 2011

घर जाँदा–आँउदा

फेरी आमाले मिस्डकल गर्नुभयो ।
काठमाडौं शहरबाट दुई–तीन घन्टाको दुरीमा भएपनि घर नगएको पूरै दुई मास भइसकेको थियो । माइतबाट एक बर्ष सम्मलाई बिदा लिएर घरतिर हिडेकी चेली झै असार हात हल्लाएर जाने तरखर गर्दै थियो । कत्ति मिस्डकल गर्छिन यि आमा–ढामा पनि ! भुतभुताउदै आकास हेरेँ । आकासले चिसो कालो मन्डी ओढीरहेको थियो । झोलामा एउटा छाता कोचेँ र लागेँ घरतिर । झोलाको भित्री खापामा फुच्चे क्यामेरा निदाइरहेको थियो । बाटोमा उसलाई ब्यूँझाए, उसले च्याप्प समातेका केही दृश्यहरु पस्कँदै छु तपाइहरु माझ:

साँखुः मनै लोभ्याउने हरीयो धानबाली

जोरधारो र बुढी आमैः शहरमा कहाँ पाउनु यस्तो पानी ? तर पाइन्छ अलि परको फेदी गाँउमा ।

गरे जे पनि हुन्छः फेदीमा ग्रीन हाउस पद्धतिबाट खेती गरिएको गोलभेँडा

फेदीस्थित एक पसल, जहाँ कुकुर र बिरालोको माया पिरती औधी झाँगीएको रहेछ ।

कुइरोसँग लुकामारी खेल्दै काठमाडौँको कणार्ली–नाङलेभारे...

उस्तैनै छन् गाँउका दुःखहरु

Friday, August 12, 2011

शरिरभरी सामान-आत्मनिर्भरको बाटो

टाउको र खुट्टा बाहेक उनको पुरै शरिर झोलाले ढाकिएको छ । उनका अनुसार करिब ३०-३५ ओटा झोला उनको शरिरमा अटाएको छ जुन २५ किलो भन्दा कम छैन । स्कूल जाने साना उमेरका केटाकेटीले बोक्ने देखि ठुला साइज सम्मका झोलाहरु उनले बोकेका छन् । लगनखेलको ब्यस्थ बजारमा हरेक दिन निथ्रुक्क पसिनाले भिजेरै उनी झोलाको ब्यापारमा ब्यस्थ रहन्छन ।

भोजपुर, च्याङग्रे गाविस वडा नं ४ का राजकुमार विष्टले २०६२ सालमा एस.एल. सी पास गरेपछी उच्च शिक्षा लिने सुनौलो सपना बोकेर काठमाडौं छिरेका थिए । पाटन संयुक्त क्याम्पसमा सोही बर्ष आई. ए मा भर्ना त भए तर घरबाट पैसा आउने स्थिति नभएकाले उनी कामको खोजीमा लागे । काठमाडौं आएको केही समय उनी कामको खोजीमा धेरै तिर भौँतारीए तर भनेजस्तो जागिर भेट्टाउन सकेनन् । पैसाको अभाव थियो, व्यापार गर्नका लागि समान किन्न र पसल खोल्न सक्ने स्थिति नभएपछी एकजना चिनेको झोला ब्यापारी सँग उनले झोला मागे र कमिसन पाउने आधारमा आफ्नै शरिरमा राखेर बिक्री गर्न थाले ।
कत्तिको ग्राहो हुन्छ त दिनभरी यति धेरै झोला बोक्दा ? उनी भन्छन–“ धेरै थकाइ लाग्छ नी । पसिनाले निथ्रुक्क भिजिन्छ , प्रत्येक दिन लुगा धुनुपर्ने हुन्छ । हात खुट्टा कटकट खाने, पेट दुख्ने समस्या बढ्दै छ । अझ गर्मि महिनामा त धैरै गाह्रो हुन्छ ”। उनले यो पेशा अपनाएको पनि छ बर्ष भन्दा बढी भइसकेछ । अहिले भने उनले आफैले लगानी गरेर झोलाहरु किनेका छन् । आजभोली प्रत्येक दिन उनको जिउमा दश हजार मूल्य जतिको झोलाहरु हुन्छन । उनका अनुसार सिजन अर्थात बैशाख–जेठ र दशैं–तिहारको समयमा दैनिक १२ देखि १५ ओटा सम्म झोला बिक्री हुन्छ भने अरु बेला दैनिक ५ देखि सात ओटा सम्म झोला बिक्री गर्छन । कति हुन्छ त कमाई ? “कमाई पनि ठिकै हुन्छ । महिनामा त्यस्तै नौ दश हजार हुन्छ । पाँच हजार जति चाँही बचत भैरहेको छ” उनी भन्छन । काममा लागेपछी पढाई रोकिए पनि उनको भविश्यको योजना ब्यापार क्षेत्रतिरै लाग्ने छ । गत वर्ष मात्रै बिहे गरेका उनले श्रीमतीलाई उतै गाउमै छोडेका छन् । अब केही पैसा जम्मा गरेर उनले दुवैजना मिलेर काठमाडौंमा कपडा पसल खोल्ने योजना बनाएका छन् ।

त्यस्तै मकवानपुर, टिस्टुङ–७ का ३३ वर्षीय हरीकृष्ण श्रेष्ठ पनि प्रत्येक दिन ३५ ओटा जति झोला जिउभरी भिरेर ब्यापार गर्न लगनखेलको सडक पेटीमा उभिन्छन् ।

उनले यसरी झोला बेच्न थालेको नै ९ वर्ष वितिसकेछ । ५९ सालदेखि झोलाको भारी बोकेर ब्यापार गर्न थालेका उनले मासिक छ-सात हजार वचत गर्छन । उनको झोलाको ब्यापार पनि राम्रै चलिरहेको र दैनिक ८ देखि ९ ओटा सम्म झोला बिक्री गरिरहेको उनी बताउछन् । आफ्नै जीउमा झोला राखेर बेच्दा पनि ३ महिना अगाडि नगर प्रहरीले सात सय जरीवाना गरेको कुराले भने उनको मन दुखिरहेको रहेछ ।

भारत, रक्सौलका मनोज शाहले एउटा चारपाटे काठको बाकस डोरीको सहायताले आफ्नो घाँटीमा झुन्ड्याएका छन् । सो बाकस महिलाले कानमा लगाउने थरी–थरीका टपहरुले टन्न भरिएको छ । एक हजार जति लगानी गरेर किनेको टप बाकसमा राखेर प्रत्येक बिहान सात बजे देखि बेलुका सात बजे सम्म सडकमा उभिएर ब्यापार गर्दैमा उनको दैनिकी बित्ने गरेको छ । कति हुन्छ त महिनाभरीको कमाई ? “खाएर महिनामा पाँच-छ हजार बचाँउछु ।” उनी भन्छन । साउन महिना लागेपछी कानमा लगाउने टप बढी बिक्री भएको उनको अनुभव छ । दुई बर्ष अगाडि देखि शुरु गरेको टपको ब्यापार राम्रो हुने देखेर उनी यही पेशामै रमाइरहेको बताउँछन ।

“लौ आयो चिसो–चिसो पानी” । एउटा हातमा २ ओटा पानीको बोतल अनि अर्को हातमा पाँच-छ ओटा पानकिो बोतल राखिएको झोला बोकेर लगनखेलको बसपार्कमा कराउदै हिँडिरहेका भेटिन्छन्–भारत दरभंगाका ४० बर्षिय मुन्ना भागवत ।

उनी काठमाडौं आएको नै १३ वर्ष भैसकेछ । शुरुमा चना, केराउ, बदाम, चना–चटपटेको ब्यापारमा लागेका उनी पछी थोरै लगानीमा धेरै फाइदा हुने देखेपछी पानीको ब्यापारमा लागेका रहेछन् । घाम लागेको दिन बढीमा १० बाकस अर्थात १२० लिटर जति पानी बिक्री गर्ने गरेको उनी बताउछन् । उनको दैनिक कमाई बढीमा एक हजार र घटीमा पाँच÷छ सय सम्म हुने गरेको उनी बताँउछन् । पानी बेचेर हुने उनको आम्दानी नेपालका सरकारी अधिकृतको तलव स्केल बराबर पुग्ने देखिन्छ । एस.एल.सी उर्तिण गरेका उनले अहिले यही पानी बेचेको भरमा आफ्ना ४ जना सन्तानलाई राम्रै सँग पढाइरहेका छन् । छोरा–छोरी कति–कति कक्षामा पढ्छन त ? उनी भन्छन–“जेठो छोरा मारवाडी कलेज भारतमा आई.एस्सी. दोश्रो वर्षमा पढ्दैछ । अर्को छोरा पनि भारतकै राज स्कूलमा कक्षा ९ मा पढ्छ । छोरी नमुना मच्छिन्द्र स्कूल लगनखेलमा कक्षा पाँचमा र सानो छोरा पनि २ कक्षमा पढिरहेको छ ।” उनी प्रत्येक दिन ११ बजेदेखि ४-५ बजेसम्म खट्ने गरेको बताउँछन् । जाडो महिनामा दिनको जम्मा दुई बाकस मात्र पानी बिक्री हुने भएकोले त्यो समय जुन काममा बढी फाइदा हुन्छ त्यही काम गर्ने उनी बताउछन् ।

जीउभरी सामान राखेर विक्री गर्नेहरु मध्ये सिरहा, बन्दिपुरकी भगवती भट्टराई पनि एक हुन । कक्षा ८ सम्म पढेकी २२ वर्षिया उनले आफ्ना श्रीमान लेखनाथ भट्टराई सँगै लगनखेल बसपार्कमा झोलाको ब्यापार गर्न थालेको एक वर्ष भैसकेको छ

। दैनिक आठ देखि दश ओटा सम्म झोला बेच्ने गरेकी उनी कहिले काँही एउटा झोला पनि बिक्री नहुने बताउछिन । तपाँइले यसरी आफैँले बोकेर झोलाकाके ब्यापार गर्दा सलिा र अप्ठ्याराहरु के–के छन् ? उनी भन्छिन–“आफैँले यसरी सामान बोकेर ब्यापार गर्दा पसलको भाडा लाग्दैन । गाह्रो त धेरै हुन्छ, पसिनाले निथ्रुक्कै भिजिन्छ ।” शुरु–शुरुमा यसरी ब्यापार गर्न अप्ठ्यारो लागे पनि अहिले खासै अप्ठ्यारो नपरेको उनी बताउछीन । अहिले उनीहरु लगभग ३० के.जी.तौल जतिको लेडिज झोलाहरु छन् जसलाई २५ हजार लगानी परेको उनी बताउछिन् । उनका श्रीमान लेखनाथ भट्टराई भने ३ वर्ष मलेसिया बसेर आएका रहेछन् । मलेसियामा राम्रो कमाई नभएपछी उनी आफ्नै देशमा केही गर्छु भनेर नेपाल फर्किएका रहेछन् । के भन्नुहुन्छ विदेश जाने यूवाहरुलाई ? “विदेशमा गएर दुख गर्नु भन्दा आफ्नै देशमा पसिना पोखे केही गर्न सकिन्छ, सबै यूवाहरुलाई यहीँ जे मिल्छ त्यसमै रमाएर पसिना पोख्न आग्रह गर्छु उनी भन्छन् ।

बिस-वाइस वर्षको उमेर दखिनै आफैले बोकेर राडी–पाखी ब्यापारमा लागेका दुव बहादुर गुरुङ्ग यतिखेर ६३ बर्षमा पाइलो हाल्दैछन् । उनको घर सिन्धुपाल्चोकको भोटेनाम्लाङ हो । “हामी गुरुङ्गहरुको पुर्खै देखिको पेशा नै यै हो, टन्न भेडापालन गर्ने, राडी–पाखी बनाउने र यसरी नै बेच्न हिड्ने ।” उनी भन्छन । तर अहिले विस्तारै भेडापालन कम भएको,ऊन मंहगो भएको र नयाँ पुस्ता पनि अरुनै काम तिर लागेको उनी बताउछन् ।
अहिले उनी प्रत्येक दिन १३ हजार मूल्यको ३ वटा राडी बोकेर ब्यापारको लागि चावाहिलको डेराबाट निस्कन्छन् र बिक्रीको लागि घर–घर पुग्छन् । कस्तो छ त राडीको ब्यापार ? “पहिला–पहिला त धेरै बिक्थ्यो, अहिले चाइनिज गलैँचा आएपछी त्यति धेरै ब्यापार हुँदैन । महिनामा त्यस्तै छ÷सात हजार बचत गर्छु” । उनी भन्छन् । अहिले यही राडीको ब्यापारबाट चावाहिलमा २ वना नातिहरुलाई पनि पढाइरहेका उनी अझै दुई–तीन वर्ष यसरी नै ब्यापार गर्ने शुरमा छन् ।

प्रेम बहादुर भुजेल, वर्ष ४१ । आज भन्दा करिब २२ वर्ष अगाडि ४६ सालको जनआन्दोलन सकिए लगतै उनी मोरङबाट काठमाडौं छिरेका थिए । काठमार्डौ आएपछी रिक्सा चलाउने देखि हरेक काम गरेछन उनले । तर आजभोली उनको जीउभरी सरसफाइका लागि प्रयोग गरिने सामानहरु छन् । कम्प्युटरको धुलो हटाउने , घरको भूँइ पुछ्ने देखि बाथरुम सफ ागर्ने ब्रस लगायतका सामानहरु उनले बोकेका छन् । आफैले लगानी गरेको सो सामान लगभग ३ हजारको जति पर्ने उनी बताउछन् । बिहान १० बजे देखि बेलुका ७-८ बजे सम्म उनको जीउमा यि सामानहरु रहने गर्छन । दरबारमार्ग, रत्नपार्क देखि जाउलाखेल लगायतका क्षेत्रहरुमा त्यि सामान बेच्न हिड्दैमा उनको दैनिकी बित्ने गरेको छ । कति हुन्छ त कमाई ? उनी भन्छन–“कहिले सय रुपैया पनि कमाई हुँदैन, कहिले दिनको ३-४ सय सम्म पनि हुन्छ ।” डेरा भाडा २ हजार तिर्ने गरेका उनले दुई जना छोरीलाई पनि पढाइरहेका छन् । “छोरो कक्षा एकमा र छोरी नर्सरीमा पढछे, उनीहरुलाई पढाउन पनि मुस्किल होला जस्तो छ ।” उनी भन्छन ।
छ वर्ष भयो उनले यो पेशा थालेको । शुरुमा सडकपेटीमा राखेर ब्यापार गर्दा नगर प्रहरीले दुख दिएपछी उनले आफ्नै जीउमा सामान राखेर ब्पापार गर्न थालेका रहेछन् । मोरङमा एयटा सानो घर मात्र रहेको र जग्गा जमिन केही पनि नभएकोले उनी काठमाण्डौं छिरेका रहेछन् । २ छोराछारी, श्रीमती र उनी सहितको चार जनाको सानो परिवार अहिले काठमाडौंमा गुजारा गरिरहेको छ । कस्तो छ त काठमाडौंको दुःख ? “दुःख त धेरै छ नी हजुर, तर पनि सानो तिनो, केही न केही काम गरेर पनि यहाँ बाँच्न चै सकिदो रहेछ ।” उनले सुस्केरा हाले ।

२०६८ श्रावण २५
काठमाडौँ ।

Wednesday, August 10, 2011

के गर्छौ ???????

नसोचेको ढुङगा खस्यो भने के गर्छौ ?
छाल बीचमा डुङगा फस्यो भने के गर्छौ ?

हृदयमा राखेथ्यौ सजाएर फूल भनि
काँडा बनि खिल, बस्यो भने के गर्छौ ?

दुध ख्वायौ भोको सम्झी मानबता घोली
सर्प भै झुक्याएर डस्यो भने के गर्छौ ?

भिँजे राती घरभित्र ओत देउ भन्नेहरु
छुरी भै मुटुमै, पस्यो भने के गर्छौ ?

स्वागतमा सिन्दुर टिका अनि फुलको माला
त्यै मालाले घाँटी कस्यो भने के गर्छौ ?

२०६७ आश्विन १८
काठमाण्डौं

Tuesday, August 09, 2011

नजिकैको चिया बगान

काठमाडौको धुलो धुवाँ कोलाहलबाट वाक्कदिक्क हुनुहुन्छ ? चिया बगानको हरियालीमा रमाउन चाहनुहुन्छ भने अब इलाम सम्म पुग्नु पर्दैन काठमाडौंबाट करिब २८ किलोमिटरकै दुरीमा लगभग दुई हजार रोपनी क्षेत्रफलमा फैलिएको आर्कषक चिया बगान–’एभरेष्ट टि स्टेट
कम प्रचार प्रसार भएको यस शुन्दर पर्यटकीय क्षेत्रमा काठमाडौंबाट मात्र घण्टामा मज्जाले पुग्न सकिन्छ काठमाडौँको नारायणटार जोरपाटीबाट सिन्धुपाल्चोकको जैसी गाँउ जाने बस चढेपछी रमणिय क्षेत्रहरु साँखु, लप्सेफेदी, धारापानी हुँदै भोटेचौर गाविस वडा नं. जैसीगाँउमा पुग्नुहुनेछ
शिबपुरी राष्ट्रिय निकुञ्ज सँगै जोडिएको चिया बगानमा जैसीगाँउमा बसबाट उत्रिएको पाँच मिनेटमै पुग्न सकिन्छ चिया बगानसँगै जोडिएको माहुरी झर्ना, चमेरीमाई गुफा, तपचुली डाँडा रेन्बो ट्राउट माछा उत्पादन केन्द्र यहाँका थप आर्कषण हुन चिया बगानको एक छेउमा चमेरीमाई गुफा स्थानिय वासिन्दा कृष्णप्रसाद खतिवडाका अनुसार चमेरीमाई गुफा तीन किलोमिटर लमो भित्र आठ ओटा ठुल्ठुला कोठाहरु रहेका रहेका छन् टर्चलाइटको सहायताले भित्र मज्जाले पुग्न सकिन्छ चमेरीमाई गुफाबाट पाँच मिनेट जति पर हैबुङ् गाबिस मा टि.बी राईको रेन्बो ट्राउट माछा उत्पादन केन्द्र काठमाडौंमा प्रति केजी पन्ध्रसोह्र सय पर्ने ट्राउट त्यहाँ प्रतिकेजी आठसयमा पाइन्छ चिया बगान लगायतका रमणिय क्षेत्रहरु घुमेर त्यहाँ पुग्नेहरुले त्यहाँ ताजा ट्राउटको फ्राई, ग्रेभी एवं रोष्ट जस्ता परिकार चाख्न पाउछन्
चियाबगान बाट करिब एक घण्टा माथि पहाडको टुप्पोलाई तपचुली भनिन्छ जहाँ शुन्दर जंगली फूलहरु, चराचुरुङ्गी एवं हरियाली बुट्यानहरुले सबैलाई लोभ्याउछ शुन्दर हिमाल, ग्रामिण वस्तिका मनोरम दृश्यले सबैको मनलाई शान्त तुल्याँउछ
चिया बगान, चमेरीमाई गुफा, तपचुली, घुमेर रेन्बो ट्राउटको स्वाद लिएपछी त्यहाँबाट तीनचार बजे काठमाडौं फर्कन पनि सकिन्छ वा त्यहीँको स्थानिय क्षेत्र जैसीगाँउ वा हैबुङ् गाबिसमा बास बस्न सकिन्छ बिस्तारै होमस्टेको अबधारण शुरु हुन लागेको यहाँ स्पेशल दही, दुध, महि, ढिँडो तरकारी आदीले स्थानीय बासिन्दा स्वागत गर्ने छन् यस क्षेत्रका मनोरम स्थानहरुको छनैट गरि छिट्टैनै पर्यटकीय क्षेत्र घोषण गर्न लागिएको सिन्धु तपचुली पाताल गुफा पर्यटन विकास समितिले जनाएको विषेशगरी पिकनिक जान एवं मुड फ्रेश गर्नको लागि यो क्षेत्र एउटा उपयुक्त गन्तब्य क्षेत्र हो अर्को कुरा यहाँबाट करिब दुई घण्टाको पैदलयात्रामा अर्को पर्यटकीय क्षेत्र मेलम्ची पनि पुग्न सकिन्छ

Monday, August 08, 2011

खर्पनभरी माया बोकेर

खर्पनभरी माया बोकेर
भेट्न आँउला भक्तपुरैमा
मुटुभरी माया साँचेर
भेट्न आँउला भक्तपुरैमा

आइसक्रिम हैन, जुजुद्यौले मुखै भर्दिउला
बाँचिदिउला तिम्रै लागि, तिम्रै लागि मर्दिउला
आउ है माया हाँस्दै–नाँच्दै चुल्ठी बाटेर
कहिले पनि सकिन्न रे माया साटेर

तोरीको फूल टिँपु भने चाँढै ओइलाउछ
गुलाफकै फूल दिँउ भने बास्ना फैलाँउछ
परेलीका डिलै डिल हिड्नु सधैभरी
ठेस लागे अलिकति भन्छु कठैबरी

खर्पनभरी माया बोकेर
भेट्न आँउला भक्तपुरैमा...

२०६५ पौष १२,
काठमाडौं

Saturday, August 06, 2011

निर्मल शर्माको लगानी

नेपाल टेलिभिजनबाट प्रसारित हुने टेलिश्रृंखला ‘तीतो सत्य’ मा गैंडाको भूमिकामा अभिनय गर्नुहुने चर्चित हाँस्यकलाकार निर्मल शर्मा ठूलो पर्दाका चलचित्र निर्माता समेत हुन् । २०५० सालदेखि निरन्तर चलचित्र क्षेत्रमा समर्पित कलाकार शर्मा सँग उनका लगानीका क्षेत्रहरूबारे गरिएको कुराकानीः–

तपाईंले पहिलो चोटी र अन्तिम चोटी लगानी गरेका फिल्महरू कुन–कुन हुन् ? तिनीहरुको व्यापारको अवस्था कस्तो रह्यो ?
सबैभन्दा पहिलो लगानी टेलिचलचित्र ‘आमाको माया’ २०५१ सालमा, त्यही वर्ष ठूलो पर्दाको चलचित्र पनि ‘आमाको माया’ नै हुनपुग्यो । मेरो अन्तिम चलचित्र नेपाल हो, जुन दयाराम दाहालले निर्देशन गर्नुभएको थियो । व्यापारको दृष्टिकोणले आजसम्म मैले बनाएका ६ वटा चलचित्र फ्लप नै मान्नुपर्छ ।
ठूलो पर्दाको फिल्म र टेलिफिल्म लगानी गर्नुमा खास फरक के हुन्छ ?
ठूलो पर्दाको चलचित्रमा ठूलै लगानी गर्नुपर्ने हुन्छ । लगानीको साथसाथै मिहिनेत ज्यादा, करिब ६-७ महिना पुरै व्यवस्त हुनुपर्छ । जोखिम पनि उत्तिकै हुन्छ । सानो पर्दामा ७-८ जनाको सानो युनिटले काम गर्न सकिन्छ । अहिलेको अवस्थामा ठूलो पर्दाको कलाकार भन्दा सानो पर्दाको कलाकार बढी पपुलर छन् र माइलेजको हिसाबले पनि सानो पर्दाको चलचित्रमै बढी माइलेज छ ।
यहासम्मको अवस्थामा आइपुग्न तपाईंले कलाकारिता क्षेत्रलाई कति समय लगानी गर्नुभएको ?
यो क्षेत्रमा लागेको करिब १७ वर्ष भयो । यो अवधिमा मैले ६ वटा चलचित्र निर्माण गरें साथै करिब ६० वटा भन्दा बढी चलचित्रमा अभिनय गरें । त्यस्तै ३५-४० वटा विज्ञापनमा खेलें । टेलिचलचित्र चाहिं त्यस्तै ८-९ वटामा खेलें । अहिले म्युजिक भिडियो निर्माण गर्ने र खेल्ने पनि
गर्छु ।
अध्ययन सामग्रीहरूको लागि मासिक कति जति लगानी गर्नुहुन्छ ?
अध्ययनका लागि दैनिक पत्रिकाहरू, म कलाकारिता क्षेत्रसँग सम्बन्धित भएकाले यस क्षेत्रसँग सम्बन्धित पत्रिकाहरू किन्छु । अध्ययनका लागि इन्टरनेट पनि महत्वपूर्ण माध्यम हो । म नेटमा पनि प्रायः बस्ने गर्छु ।
अहिले पर्यटन वर्ष चलिरहेको छ, आन्तरिक पर्यटकको रूपमा घुमफिरका लागि कति लगानी गर्नुभयो ?
म आफैं पनि निकै लामो समयदेखि पर्यटन व्यवसायसँग सम्बन्धित छु । हाम्रो देशको प्रमूख आयको स्रोत नै पर्यटन उद्योग हो । म आफैं पनि घुम्नको लागि सौखिन मान्छे हुँ । हालसालै मैले सौराहा लगायतका क्षेत्रहरू घुमेर आएको हुँ । परिवार साथीलाई सँग जाँदा एउटा आम नेपालीले गर्ने खर्च मैले पनि अवश्यगरेको छ ।
तपाईं नेपाल टेलिकम, आयल निगम र विद्युत प्राधिकरणलाई गाली गर्न कति समय लगानी हुनुहुन्छ ?
अब गाली नै गर्ने हो भने हाम्रो देशमा यति धेरै गाली गर्ने विषयहरू छन् कि बिहान उठेदेखि गाली गर्न शुरू गरे बेलुका रातिसम्म पनि सिद्धिदैन । नेटमा बस्दा नेट खुल्दैन, आउँदैन, फोन लाग्दैन,
पेट्रोल, ग्याँस पाइदैन । कसलाई मात्र गाली गर्ने ? भोली पर्सी ठीक समयमा पानी आउने, बत्ति आउने, फोन लाग्ने, तेल पाइने भयो भने त हामी बेहोस नै हुन्छौ किन कि हामीलाई त अर्को बानी लागिसक्यो ।
नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हा“स्यश्रृंखला ‘तीतो सत्य’ यहा“सम्म आइपुग्न तपाईंको लगानी कस्तो रह्यो ?
हामी साँढे ८ वर्षसम्म आउँदाखेरी अनेक किसिमका समस्याहरू झेल्दै आइरहेका छौं । आजको दिनसम्म आइपुग्दा सर्वाधिक लोकप्रिय कार्यक्रमको रूपमा दर्शकले हामीलाई माया गरिरहनुभएको छ ।
आजभन्दा साँढे ८ वर्ष अघिसम्म म कलाकारको रूपमा कमै चिनिन्थें र मलाई पनि यसले यति ठूलो प्लेटफर्म दियो कि आज साठी ओटा भन्दा बढी चलचित्र, ४० वटा जति विज्ञापनमा खेलें । अहिले म्युजिक भिडियो र विज्ञापन निर्माणका लागि म कहाँ यति धेरै मान्छेहरू आइरहेका छन् कि यी सबै चिजको मूख्य देन नै तीतो सत्य हो । विशेष मुख्य भूमिका दिपकराज र दिपाश्री कै हो ।
कलाकारिता क्षेत्रबाट भएको आम्दानीले अन्य व्यवसायकम गरेको लगानीको अवस्था कस्तो छ ?
एउटा आम नेपालीले भन्दा अझ उच्च किसिमको कमाई यो क्षेत्रबाट हुन्छ । तर कलाकारिता क्षेत्रमा कमाएर अरू क्षेत्रमा लगानी गर्ने अवस्था चाहिं बनिसकेको छैन ।
तपाईंले लगानी गर्न चाहेको तर अहिलेसम्म नपाएको त्यस्तो कुनै क्षेत्र छ ?
म आफु होटल व्यवसायी भएको नाताले पनि दरबारमार्ग एरियामा राम्रो एउटा इन्डियन रेष्टुरेन्टको कल्पना छ मसँग । जुन अलि कठिन पनि छ, भाडा र त्यसलाई मार्केटिङ गरेर चलाउन गाह्रो छ । जुन ठाउँमा मैले अहिलेसम्म लगानी गर्न पाएको छैन ।

Friday, August 05, 2011

अजबको देशमा-गजबका पत्रकार

राससका बीरेन्द्र कर्णले लेखेको, साउन १८ गते गोरखापत्रमा एङ्कर न्यूजका रुपमा प्रकाशित समाचारले ताजुप बनाएको छ । समाचार शीर्षक छ–
पत्रकारले मागे एफ.एम. स्टेशन दाइजो

त्यि पत्रकारको नाम हो–रोयान्टर मण्डल जसले सिरहामा मधेश स्पेसल साप्ताहिक पत्रिका निकाली रहेका छन् रे घरको सुनचाँदी धितो राखेर । उनी विगत देखिनै दाइजो बिरोधी समाचार लेख्थे अरे । उनको सपना छ रे एफ.एम. रेडियोको मालिक बन्ने । समाचारमा भनिए अनुसार हालसम्म उनको माग पूरा गरीदिने कोही भेटिएका छैनन रे ।

कस्तो बाठो पत्रकार हगि ???
श्रीमती पनि एफ.एम. पनि स्टेशन पनि ।

बीरेन्द्र कर्णले समाचारमा उल्लेख गरे अनुसार तराईमा बी.ए. उर्तिण वालालाई ५ लाख सम्म दाइजो दिइन्छ ।
मलाई यतिबेला सानोठिमी क्याम्पसमा सँगै पढेको एकजना तराई बासी साथीको याद आइरहेको छ -
सुबोध यादब हो उसको नाम ।

बी.एड्.मा अंग्रेजी पढ्ने क्रममा उसलाई मैले नजिकबाट बुझेको थिएँ । उसको हातमा जतिखेर पनि कोर्ष संग सम्बन्धित नोट र किताबहरु हुन्थे । तिनलाई उ जतिखेर पनि रटिरहेको हुन्थ्यो । रट्न पनि यसरी रट्थ्यो कि पुरा लाइनका लाइन । एकदिन शनिबार क्याम्पस पछाडिको चौरमा गएर पढिरहेको थिँए । उ पनि त्यहाँ नोट रट्दै थियो । तिमी किन यसरी पढ्नमा घोटिन्छौ यार भन्दा उसले– ब्याचलर सक्यो भने यति दहेज आँउछ, मास्टर सक्यो भने यति दहेज आँउछ भनेर बेलिबिस्तार लगाएको थियो ।
कस्तो अचम्म !!
जसले पढाइको उद्धेश्य नै दाइजो बनाउछन् । अझ पत्रकार महासंघ मोरङ जिल्ला कोषध्यक्ष समेत रहेका पत्रकारले नै दाइजोको रुपमा एफ.एम. स्टेशन नै मागेपछी समाजमा त्यसले नकारात्मक प्रभाव र दाइजोको महत्वलाई अझ उचाल्ने देखिन्छ । दाइजो बिरोधी समाचार किन लेखे तिनले ? सायद साप्ताहिक पत्रिका निकाल्नुको रणनीति एफ.एम्. स्टेशनलाई दाइजोको मूल अस्त्र बनाउन त हैन ? यस्तै–यस्ता पत्रकार हुने हो भने नयाँ नेपाल साँच्चै नयाँ नेपाल नै हुने थियो कि ?

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...