कवि दाइ मनप-यो अवता
मलाई पनि लेख्देउन कविता
यो गीत चटपटे गाजलु नवयौवनाहरुले कविलाई जिस्काउदै गाउने लोकगीत भनेर यहाँले सोच्नुभा’को होला तर त्यसो चै हैन है । यौवनले मक्त भएका तरुनीहरुले तव यो गीत गाउने छन् जव कविजीको गोजी टन्न भरिएको हुनेछ – दाम पैसाले । भनिन्छ कविहरु वौद्धिक हुन्छन्, ज्ञान गुणले भरिएका एवं जीवन जगतप्रति एकदमै सम्बेदनशील । जसको तुलनामा मोटर गाडी चलाउने ड्राइभरहरु भने कम नै पाइन्छन् । तर उनीहरुसँग कविको तुलनामा टन्न पैसा हुन्छ । यता लुत्रे कवि भने बल्ल तल्ल छापिएको एउटा कविताको सय रुपैया पारिश्रमिक समेत नपाएर पत्रिकाको कार्यालयमा महिनौं लुत्रिन्छन् भने उता ड्राइभर र खलासी दाजुभाई मिनेट मिनेटमा पैसा कमाउँछन् । त्यसैले विचार, ज्ञान, बौद्धिकता आदि क्षेत्रमा ड्राइभर खलासी जस्तोसुकै हुन्, हातभरी पैसा देखेपछि नवयौवनाका आँखाका नानी नै हुन्छन् । अनि थाल्छन् यसरी गीत नै रन्काउन युवतीहरु –
ड्राइभर दाइ मन प-यो मलाई
लैजाउ न पोखरा घुम्नालाई
उता कविजी भने डाहले भुतुक्कै हुन्छन् । अब भुतुक्क भएर पनि के गर्नु, यौवनाका आँखा, ओठदेखि शरीरका प्रत्येक अंग अंगको बारेमा जतिसुकै सुन्दर गजल कविता लेखेपनि गांठ्ठी कुरो त पैसो नै रहेछ । एकछिन त मोरीहरु दंग परेर सुनेजस्तो त गरिदिन्छन् जब कविजीको रित्तो खल्ती देख्छन् तब टाटा, बाईबाई गरेर लाग्छन् ड्राइभरतिरै । हुन पनि हो, कविको कविताले युवतीहरुलाई न पोखरा घुमाउँछ न नगरकोट नै, न फेयर एण्ड लभ्ली नै किनिदिन्छ न नयाँ नयाँ फेशनहरु । न त खुवाउँछ एक प्लेट मःमः नै । त्यसैले त आजभोली कुनै तन्नेरी ठिटो मनप¥यो भने पनि पछि कवि भन्ने थाहा पाउने वित्तिकै छाडी दिन्छन् नवयौवनाहरु । विचरा कवि त खिस्रिक्क ! मेरा एक जना कवि साथी छन् । उनले गज्जपको उपनाम राखेर साहित्यको शुरुवात गरेका थिए । उनको नामै सुनेर कत्ति तरुनीहरु त उनीसँग मस्की मस्की कुरा गर्न आइरहन्थे र उनी प्रत्येकका लागि कविता लेख्थे र सुनाई हाल्थे । तर उनलाई लभ चाँही कसैले गरेनछन् । एक दिन विहान उनी मसँग जंगिंदै थिए “एक बर्ष होइन, दुई बर्ष होइन, तीन बर्ष होइन, कहिल्यै लभ चैं गर्दैनन् मोरीहरु” । आफ्नो नाम र कविताको प्रभावमा कसो न कसो एउटी सुन्दरी त फस्छे–फस्छे भन्ने सोच्या रैछन् तर ठण्डाराम । दाह्री पालेर ट्राजेडी लेख्नु र ड्राइभरतिर हेरेर बस्नु बाहेक आजभोली उनको काम नै छैन । पैसा भनेपछि महादेवका पनि तीन नेत्र भन्छन् भने यस्तो झरिलो बैश लाउँ–लाउँ, खाउँ–खाउँ भन्ने वयमा लिखुरे कवि ताक्नु भन्दा त ज्याङ्गो ड्राइभर नै जाति । शायद ड्राइभर ताकुवा नवयौवनाहरुको राय यो पनि हुन सक्ला । आज भोली विचार भन्दा बल ठूलो र मन भन्दा धन ठूलो हुँदै गइरहेको महंगीको जमानामा यस्तो हुनु स्वभाविकै हो । तर यसबाट कविको लागि पनि एउटा फाइदा भने अवश्य देखिन्छ ।असन्तोष एवं असफलताको कोखबाट जन्मने नयाँ सुन्दर कविताहरु र बाँचुञ्जेल सम्म मदन पुरस्कारको घिड्घिडो, कि कसो ?
२०६६ भाद्र १४
सात्दोबातो , ललितपुर