त्यो दिन स्कूल बिदा थियो । निरु आमा र दिदी संगै पशुपतिनाथको मन्दिरमा पूजा गर्न गएकी थिईन । मन्दिर भित्र जाँदा जुत्ता चप्पल लगाएर जान नहुने भएकोले उनकी आमा र दिदीले बाहिर नै चप्पल जुत्ता ब्याग राखेर राम्रोसंग हेर्नु है भनेर पूजा गर्न जानुभयो । निरुसंग केरा, स्याउ, सुन्तला आदी फलफुलको झोला पनि थियो । उनी मन्दिर बाहिर सामानहरु कुरेर एक्लै बसेकी थिइन् ।
अचानक त्यहाँ दुइवटा बाँदरहरु उनको नजिक आए । दुइटै बाँदरहरु साना–साना थिए । उनलाई बाँदरदेखि डर लाग्यो । उनी डराएको देखेर त्यि फुच्चे बाँदरहरुले नडराउ सानी केटी हामी तिमीलाई केही पनि गर्दैनौँ भनेर भने । त्यी बाँदरहरुहरुले निरुले बोकेको झोलामा फलफूल पनि देखिहाले । त्यसपछी एउटा बाँदरले अर्को बाँदरसँग सुटुक्क भन्यो–“आहा !फलफूल रहेछ यार ! सबै चोरेर खानुपर्छ कि क्या हो”? त्यो बाँदरले सुटुक्क भनेपनि निरुले सुनिसकेकी थिईन ।अर्को बाँदरले पनि भनिहाल्यो–“चोरेर हैन मागेर नै खाउन यार” । फेरी पहिलो बाँदरले भन्यो–“हैन चोरेरै खाँउ किनकी त्यो सानी फुच्चिले हामीलाई केह ीगर्न सक्ने हैन क्यारे” । फेरी अर्को चाँही बाँदरले रिसाएर भन्यो–“मागेर नै खाउँन । हामँलाई अलिकति मात्रै भएपनि पुगिहाल्छ नी” । निरुलाई झन्झन् डर लाग्न थाल्यो तर त्यी बाँदरहरुले उनलाई केही पनि गरेका चाँही थिएनन् । उनीहरु उत्तिखेरै एकआपसमा झगडा गर्न पनि थालिहाले । एउटा मागेर खानुपर्छ भन्दै अनि अर्को चाँही चोरेर खानुपर्छ भन्दै ।
उनिहरु साँच्चिकै कुस्ति नै खेल्न थालेपछि भने निरुलाई रमाइलो नै लाग्यो । उनी खित्का छाडेर नै हाँसिन । एक्कासी दुइटा बाँदर झगडा गरेको ठाँउमा एउटा ठुलो बाँदर आयो र किन झगडा गरेको भनेर छुट्यायो । दुइटै बाँदरले सानी केटीले बोकेको फलफूल चोरेर खाने की मागेर खाने भन्ने कुरामा झगडा भएको बताए । त्यो ठुलो बाँदर अरु बाँदर जस्तो खराब थिएन ।
त्यो ठुलो बाँदरले त्यी दुइटा साना बाँदरलाई सम्झाउँदै भन्यो–“हेर हामीजस्ता बलिया हातगोडा भएकाहरुले कहिल्यै पनि चोरेर अनि मागेर कसैको चिज लिनु हुदैन । काम गरेर खानुपर्छ । चोर्नु त ज्यादै खराब काम हो । त्यस्तो काम त अब हामी बाँदरहरुले पनि गर्नुहुँदैन, बुझ्यौ केटाहरु । अनि उसले साना केटाकेटी, बुढाबुढी, अशक्त, कसैलाइ पनि दुःख दिनुहुँदैन । उनीहरुलाई त झन् सहयोग पो गर्नुपर्छ । यहाँबाट तिमीहरु गइहाल भनेर उसले हप्कायो । त्यसपछि सानो बाँदर र ठुलो बाँदर अन्तै गए ।
निरु मनमनै खुसि भईन बाँदरले फलफूल नचोरेकोमा तर उनलाई एउटा कुराले भने साह्रै मन पोलेको थियो । हिजो कक्षामा रस्मिलाको पेन्सिल थाहा नपाउने गरी लिएकी थिइन उनले । बाँदरको त्यो कार्य देखेपछि उनले भोली नै रस्मिलालाई पेन्सिल दिन्छु भनेर बाचा गरिन ।
फाल्गुन २२ गते आइतबार कान्तिपुर दैनिकमा प्रकाशित
No comments:
Post a Comment