उनले पानी घट्ट चलाउन थालेको नै २० वर्ष भन्दा बढी भइसकेछ । सिन्धुपाल्चोकको भोटेचौर र हैवुङ्ग गा.वि.सको सिमानामा पर्ने ठाडो खोलामा उनले ६ वटा घट्ट फेरीसकेका छन् । “शुरुमा ४ जना पार्टनर मिलेर घट्ट बनाएको थियो, सबैले छोडे तर मैले छोड्न सकिन” उनी भन्छन् ।
उमेरले ६० पुगेका हैवुङ्ग निवासी मान बहादुर तामाङ प्रत्येक दिन आधा घण्टा हिडेर घट्ट चलाउन आइपुग्छन् । बढ्दो लोडसेडिङले सबै क्षेत्रमा मार परेपनि उनलाई भने दैनिक एक पाथी पिठो फाइदा भइरहेको रहेछ । वरीपरी गाउँमा रहेका बिजुलीबाट चल्ने मिलहरुको भर नहुँदा त्यस आसपासका गाउँलेहरु उनकै घट्टमा आइपुग्छन् । लोडसेडिङले त तपाईलाई फाइदा पो गरेछ नी ? दुवै तर्फ गालामा अनगिन्ति रेखा पार्दै उनी मुस्कुराए–“पिठो फाइदा भएर के गर्नु, यही पिठो बेचेर टुकी बाल्न मट्टीतेल किन्नुपर्छ, रेडियो सुन्न पाईदैन । उनका अनुसार लोडसेडिङ नभएको बेला घट्टमा ज्याला स्वरुप जम्मा १ पाथी पिठो मात्रै हुन्थ्यो । अहिले लोडसेडिङ बढेपछि भने उनकोमा २ पाथी भन्दा बढी पिठो ज्याला उठ्न थालेको छ ।
मकै, गहुँ, कोदो, जौ पिस्ने उनको घट्टमा ज्याला लिने त्यस्तो कसि कसाउको नियम छैन । “इच्छा अनुसार दिनुस भन्छु । कसैले एक–दुई अंजुली बढी पनि दिन्छन्, कसैले घटी पनि दिन्छन् ।” उनले एक पाथी अन्न पिंधेवापत आधा माना पिठो ज्याला लिने गरेको बताए ।
महिनाभरी घट्टमा धाएर अहिले २ मुरी पिठो जम्मा पार्छन् उनले । यसबाट उनको आठ जनाको परिवारलाई महिनाभरी खान पुग्दैन । उनी भन्छन्–“पिठोजति बस्तुभाउलाई नै ठिक्क हुन्छ ”। बाँकी जिन्दगी पनि यही घट्ट चलाएरै बिताउने उनको योजना छ । लोडसेडिङले दैनिक १ पाथी पिठो ज्याला बढेपनि उनको कामना छ–“लोडसेडिङ चाढै हटोस् ।”
No comments:
Post a Comment