जतिबेला म चौध बर्षको उमेरमा हिड्दै थिँए । सुकोमल ओठमाथि अलि–अलि कैला रौँहरु आउन थाले । दारी–जुँगा आउनु नै त्यतिबेला यस्तो भयो मानौँ जिन्दगीमा अब अरु खुसीका कुनै दिन यसरी आउने छैनन् । सानै देखि ठूला मान्छेहरुले दारी काटेको देख्दा मेरो दारी कहिले आउला भने जस्तो लाग्थ्यो । त्यसरी दारी काट्ने दिनको प्रतिक्षा गर्दै बच्चामा दारी काट्ने खेल पनि खेलियो । अब अलि–अलि रौ आइदिएपछि त के चाहियो र ? शूरु भैहाल्यो ब्लेड लगाएर अनुहार खुर्किने काम । तर यो दारी भन्ने चिज त बढो मप्पाको पो हुँदो रहेछ । जति जति खुर्कियो उति उति आउने । ब्लेडको तिखो धार रगड्दा–रगड्दा यो बिचरा गाला नै गैडाको छाला झैँ बन्न पुग्दो रहेछ । २० वर्षको मान्छे पच्चिस बर्षको जस्तो, २५ वर्षको मान्छे ३०–३५ वर्षको जस्तो । उता जनजाति मित्रहरुलाई हेर्ने हो भने उनीहरुको बास्तविक उमेर भन्दा पनि निकै कम उमेरका झै देखिन्छन् । एउटा रौ पनि नउम्रने सुकोमल जनजाती गालाहरु । देवकोटाले एउटा उनको निबन्धमा लेखेका छन्–“मगरको नास्ति दारी न जुँगा ।” उनलाई पनि दारी जुँगाले रुवाएको हुनुपर्छ र लेखे होलान यस्तो ।
शुरुमा ऐना हेर्दै, मुसुक्क मुस्कुराँउदै दारी काट्न बहुतै मज्जा लागेर आयो । तर पछि–पछि...उफ..!! आज काट्यो भोली नै फेरी पुरै अनुहार भरी काला दह्रा–दह्रा रौका ठुटा ठुटी पलाएर आइहाल्ने । धारीलो ब्लेड नलगाँउ त अनुहार पुरै फोहोर देखिने, लगाँउ त कति लगाँउ ? हे प्रभु...हे अल्लाह... हे महादेबकी वाइफ पार्बती.........................................। यसको मतलब बहुतै वाक्क दिक्क लाग्दो । कहिले काँही दारी काट्दा यस्तो लाग्छ, कि म केटी भएर जन्मन पाएको भए दारीको यस्तो ताडना–यातना त सहनुपर्ने थिएन् ।
आज क्रिसमस मनाइरहेछन् शहरमा । ह्याप्पी मेरी क्रिसमस भन्दै । लौ लौ तिम्री नै क्रिसमस !!
मेरी क्रिसमस नभनेर हाम्री क्रिसमस भने पनि त जाति नै हुँदो हो नी । जे सुकै भनुन् । बुद्ध हुन कि शिब, यशू हुन कि अल्लाह । आफू त यिनीहरु कसैसँग मागिँदैन सल्लाह । गरिन्छ काम, नत्र पाइन्न माम । जतिसुकै भगवान अलापे पनि आफुले काम नगरीकन यहाँ केही हुने हैन क्यारे ।
आज बिदा थियो । पुसको पहारिलो, न्यानो घाममा बसेर विधी र प्रक्रिया पु¥याएर आनुहारको दारी फडानी कार्यक्रम भब्यताका साथ सम्पन्न गरियो । कथित बाहुन भएको हुनाले पनि होकी यो दारीले यतिबिधी सताएको । बिचरा जनजातीहरु दारी जुँगाको रहर गर्छन् । तर फेरी यिनै जुँगा दारी टन्न आँउने जातिमाथि गालीको पर्रा बर्साउछन् । बाहुनले आदीबासी जनजातीमाथि थिचोमिचो ग¥यो रे । लामो नाक र टन्न दारी देख्नेबित्तिकै यो गैह्र जनजाती रहेछ भन्न थालिसके यो लोकतन्त्रमा । बाहुन हुनु अन्याय हो अथवा अन्यायको प्रतिक हुनु हो ?? तराइबासी मधेशी पनि भन्छन–“पहाडिया बाहुनहरुका अन्यायका कारण मधेश आज रोइरहेछ ।” हो हो रोइरहेछ । तराई मधेशमा त पहाडबाट पानी नझेर पनि त्यहाँको विशााल मैदानमा टन्न सिँचाई गर्न सकिन्छ हगि ? त्यै रोएको आँशुले । उनीहरु भन्छन, अब सरकारी जागिरमा बाहुनलाई बाइकट गर्नुृपर्छ र त्यहाँ जनजाती र मधेशीका लागि स्थान छुट्टाउनुपर्छ । वाह..म..वाह...। मैले त न कुनै जनजाती मित्रलाई अन्याय गरेको छु न त कुनै मधेशी दाजुभाइलाई नै । तर पनि यस किसिमका जातिय र क्षेत्रिय चिन्तनले गर्दा आज यो देशलाई साह्रै कष्ट भैरहेछ । मलाई दारी काट्न दिग्दार लागेझै ।
आसा गरौ यो देशमा पनि सदा सर्बदा पुसको पहारिलो घाम लागिरहने दिन आउने छ ।
आज घाममा बसेर आनन्द सँग दारी त काटियो, पर्सि त फेरी जत्तिको तत्तिनै भैहाल्छ । तर जे भएपनि पुसको न्यानो घाममा बसेर दारी काट्दा कति आनन्द आँउछ , त्यसको अनुभव न दारीजुँगा नभएका जनजातीहरुले गर्न सक्छन न त कुनै महिलाजनहरुले नै । अस्तु ।
२०६८ पौष १०, ललितपुर ।
No comments:
Post a Comment