
दुईवर्षभित्र नयाँ संविधान पाउने नेपाली जनताको आशा पूरा हुन नसके पनि टि.बी. राईले भने रेम्बो ट्राउट पालनबाट सफलता हात पारेका छन् । संयोग नै मान्नुपर्छ मुलुकमा संविधानसभाको निर्वाचन भएकै समयदेखि शौखका रुपमा रेम्बो ट्राउट पालन सुरु गरेका राई अहिले व्यवसायिक रुपमा नै ट्राउट उत्पादनमा लागेका हुन् ।
खोटाङ् जिल्लाको लफ्याङ गाविस, दुखुममा २०२६ सालमा जन्मिएका टि.बी. राई १६ वर्षको उमेरदेखि नै ठेक्कापट्टाको व्यवसायमा संलग्न थिए । यही क्रममा देशका विभिन्न भागमा पुगेका राईले २०४३ सालमा आर्मीको लागि राशन ठेक्का लिए । बुटवल भैरहवाका खाद्य संस्थानलगायतका धेरै ठाँउमा उनले ठेक्कापट्टामा सफलता पाए । ‘नयाँ केही गरुँ भन्ने उनको मनलाई भने ठेक्कापट्टाले मात्रै सन्तुष्टि दिएन’ उनी भन्छन्, ‘केही नयाँ काम गर्ने सोंच सहित २०६१ सालतिर बालाजुबाट घुम्दै नुवाकोट जाँदा बाटोमा रेन्बो ट्राउटको व्यवसाय देखेपछि भने म त्यतातिर लोभिएँ ।’ सुरुमा शौखकै रुपमा भएपनि ट्राउट पाल्न जोशिएका राइले उपयुक्त ठाउँको खोजी सुरु गरे । उपयुक्त ठाँउ खोज्ने क्रममा उनी नुवाकोटको भोटेचौर गाविस र रसुवाको हैबुङ गाविसको सिमानामा पर्ने ठाडेखोलासम्म पुगे । उनी भन्छन्, ‘२०६१ सालतिर शिवपुरी राष्ट्रिय निकुञ्ज छेउमा उनले सात रोपनी जग्गा किनेर मेलम्चीबाट भुरा ल्याएर ट्राउट पाल्न शुरु गरेँ ।’ जग्गासहित माछा पाल्ने पोखरीलगायतका संरचना निर्माण गर्न उनले शुरुमै २५ लाख लगानी गरेका थिए । अहिले सातओटा पोखरीमा करिब आठसय ट्राउट माछा पालिरहेका राईले मासिक एकलाखभन्दा बढीसम्म आम्दानी भएको राई बताउँछन् ।
हुन त उनले सानो मिहिनेतले यो आम्दानी गर्न सफल भएका होइनन् । संरचना बनाउनका लागि गरिएको लगानीले दुई वर्षसम्म प्रतिफल दिन सकेन भने बरु घाटामै उनले व्यवसाय गरिरहे । उनी भन्छन्, ‘यदि मैले दुईवर्षसम्म घाटा खाएँ भनेर पेशा नै छोडेको भए यो सफलता हात लाग्दैनथ्यो ।’ दुईवर्षपछि मात्रै बिस्तारै आम्दानी हुन थालेको बताउँदै उनी भन्छन्, ‘कुनै महिना त मासिक एकलाख २५ हजारसम्म फाइदा भएको छ, यो निरन्तर मिहिनेतको फल नै हो ।’ ट्राउटको लागि बजारको पनि समस्या छैन । ढुवानी खर्च भने केही महङ्गो भएको र ठूलो साइजको माछा अलि कम बिक्रि हुने गरेको उनी बताउँछन् । उनी भन्छन, ‘काठमाडांैमा प्रतिकिलो पन्ध सोह्रसय पर्ने ट्राउट उनकै फार्ममा भने प्रतिकिलो आठसय रुपैयामा नै बिक्रि गर्ने गरेको राई बताउँछन् ।
हयाचरीको पनि सुरुआत
शौखको माछा व्यवसाय रुपमा शुरु गरेका राईले व्यावसायिक रुपमा माछा पाल्ने क्रममा अहिले माछाको ह्याचरी बिस्तारमा पनि लगेका छन् । ह्याचरीका लागि आफ्नै कर्मचारीलाई तालिम दिलाउने सोचमा रहेका राईले गोदावरीको मत्स्य विकास केन्द्रमा केही समय तालिम पनि लिए । उनी भन्छन्, ‘अहिले भुरा ट्राउटको अभाव छ, त्यसलाई पूर्ति गर्न धेरै भुरा उत्पादन गरेर ट्राउट पाल्न चाहनेहरुलाई सहयोग पु¥याउँदैछु ।’ भर्खरै उनले थप पाँचलाख लगानी गरेर ह्याचरी निर्माण गरेका हुन् । उनले ह्याचरीबाट उत्पादित ट्राउट माछाको भुराको मूल्य प्रतिवटा पाँचरुपैँया राखेका छन् । अहिले उनको फार्मबाट भुरा लिन मेलम्ची, नुवाकोट, ललितपुरदेखि पोखरासम्मका ग्राहकहरु आउने गरेका छन् ।

एकजना तालिम प्राप्त कामदार सहित अन्य चारजना कामदार दैनिक व्यस्त रहने उनको फार्ममा अहिले भने करिब आठ सय केजी ट्राउट शिबपुरी जंगलबाट झरेको चिसो पानीमा पौडिरहेका छन् । करिब सात टन उत्पादन क्षमता रहेको सो फार्ममा उनी अझै माछा थप्ने योजनामा छन् । माछाको लागि दानामा मात्रै मासिक ९० हजार भन्दा माथि खर्च हुने उनी बताउछन् । ट्राउटमाछा जति महंगो हुन्छ त्यति नै यिनीहरुको दाना पनि महंगो हुने उनी बताउछन् । भुरा माछालाई दिने दाना प्रतिकेजी ३००, मध्यम दालको लाई प्रतिकेजी २५० र ठुलो साइजकोलाई १०५ रुपैया प्रति केजी पर्छ । “शहरको छेउमा भएको भए होटल रेष्टुरेन्टबाट बढी भएको खाने कुरालाई दानाको रुपमा प्रयोग गर्न सकिन्थ्यो, दाना पनि सस्तो पथ्र्यो” उनी भन्छन् । रेन्बो ट्राउट महंगो हुनुमा यो माछा अन्य माछा जस्तो जुनसुकै ठाँउ र वाताबरणमा नहुने, पानी जम्ने पोखरीमा नहुने, दाना मंहगो पर्ने एवं अरु मछाको लागि भन्दा बढी मेहनत गर्नुपर्ने कारण महंगो भएको उनको बुझाई छ । अहिले उनको फार्ममा वार्षिक करिब दश लाख जति दानाको लागि खर्च हुन्छ । सबै तिरको खर्च कटाएर वार्षिक रुपमा दश लाख जति फाइदा लिइरहेको उनी बताउछन् । कृषि क्षेत्रमा लगानी गरेर पनि मनग्गे फाइदा लिन सकिन्छ भन्ने उदाहरण हुन टि.बी राई । नेपालमा रेन्बो ट्राउट माछाको उत्पादनमा असिम संभावना रहेको बताउनुहुन्छ ।
नेपालमा रेम्बो ट्राउट
नेपालको भौगोलिक अवस्था सुहाउँदो चिसो पानीको सदुपयोगबाट भिरपाखोमा पनि व्यवसायिक उत्पादन हुन सक्ने माछाको सम्भावना र महत्वलाई दृष्टिगत गरी भारतबाट सन् १९६९ मा रेम्बो ट्राउट र सन् १९७२ मा बेलायतबाट ब्राउन ट्राउट भिœयाइएको थियो । प्राविधिक ज्ञानको अभावमा अगाडि बढ्न नसके पनि सन् १९८८ मा जापानबाट ल्याइएको रेम्बो ट्राउट माछाको ५० हजार भ्रुण–पूmलबाट गोदावरीमा भुरा उत्पादन गरिएको थियो । त्यसपछि गोदावरी र त्रिशुलीमा त्यसको सम्भाव्यता अध्ययन गरिएको थियो । नीजि क्षेत्रमा ट्राउट माछाका पालन सन् १९९८ मा सर्वप्रथम नुवाकोट ककनीमा शुरू भएको थियो । आर्थिक वर्ष ०६४-६५ देखि ट्राउट माछाका भुराको बढ्दो माग, देशमा रहेको प्रविधिको उपयोग गर्दै ट्राउट उत्पादनमा वृद्धि गर्न उत्पादन प्रविधि निजी क्षेत्रमा बिस्तारको कार्यक्रम शुरू गरिएको थियो । जसमा ह्याचरी उपकरण वितरणजस्ता काम शुरू भएको मत्स्य विकास केन्द्र, गोदावरीकी वैज्ञानिक आशा रायमाझी बताउनुहुन्छ ।
अहिले देशका ११ वटा जिल्लामा व्यवसायिक रूपमा ट्राउट माछा पालन भइरहेको छ । नुवाकोटमा ३० वटा, रसुवामा ८, काठमाडौंमा ३, ललितपुरमा १, काभ्रेमा २, कास्कीमा ३ र दोलखामा ३ गरी देशभर ६२ वटा ट्राउट फार्म अहिले सञ्चालनमा छन् । मत्स्य विकास केन्द्रको तथ्याङ्कअनुसार अहिले ४ हजार ९ सय २५ वर्गमिटर क्षेत्रफलमा ट्राउट खेती भइरहेको छ ।
उपयुक्त ठाउ
ट्राउट माछा ० देखि २५ डिग्री सेल्सियससम्म पानीको तापक्रममा बाँच्न सक्छ । यसको लागि प्रशस्त, निरन्तर बगिरहने सफा र चिसो पानी चाहिन्छ । रेम्बो ट्राउट खाने माछाको उत्पादनका लागि पानीको तापक्रम १४ डिग्री सेल्सियसभन्दा माथि र २० डिग्री सेल्सियस भन्दा कम हुनुपर्छ । यसको उपयुक्त खाना र बृद्धिको लागि भने १४–१८ डिग्री सेल्सियस तापक्रम चाहिन्छ । ७ मिलिग्राम प्रतिलिटरभन्दा बढी र पि.एच. ६.५–८.० उपयुक्त हुने वैज्ञानिक रायमाझी बताउँनुहुन्छ । उहाँकाअनुसार ट्राउटले फूल पार्ने र भुरा निकाल्नको लागि ९–१४ डिग्री तापक्रम आवश्यक पर्छ ।
असीमित सम्भावना
नेपालको भौगोलिक संरचना, जलस्रोतको उपलब्धताका आधारमा रेम्बो ट्राउट खेतीको ठूलो सम्भावना रहेको मत्स्य विकास केन्द्रकी वैज्ञानिक आशा रायमाझी बताउनुहुन्छ । भिरालो जमिनमा समेत रेसवे (ट्राउटको पोखरी) निर्माण गर्न सकिन्छ । हिमाली र पहाडी क्षेत्रमा नदीनालका छेउछेउमा यसको खेती गर्न उपयुक्त हुने देखिन्छ । रेम्बो ट्राउट माछा चिसो बगिरहेको पानीमा उच्चगुणस्तरीय पौष्टिक दाना खाएर हुर्किने भएकोले स्वास्थ्यका लागि पनि उच्चगुणस्तरीय हुने ट्राउट माछा विदेशमा निर्यातको पनि प्रबल सम्भावना छ । नेपालमा छोटो अवधिमै ठूला होटलहरू विदेशीहरू तथा स्वदेशीहरुबाटै धेरै माग भइरहेको छ । रेम्बो ट्राउट पाल्ने कृषकहरूका लागि सरकारले निःशुल्क प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको खण्डमा रेम्बो ट्राउट पालनतर्फ कृषकलाई आकर्षक गरी राष्ट्रिय अर्थतन्त्रमा पनि सहयोग पु¥याउन सकिन्छ ।
०६८ बैशाख १०,
सिन्धुपाल्चोकबाट फर्केपछी
No comments:
Post a Comment