शरिरभरी सामान-आत्मनिर्भरको बाटो
टाउको र खुट्टा बाहेक उनको पुरै शरिर झोलाले ढाकिएको छ । उनका अनुसार करिब ३०-३५ ओटा झोला उनको शरिरमा अटाएको छ जुन २५ किलो भन्दा कम छैन । स्कूल जाने साना उमेरका केटाकेटीले बोक्ने देखि ठुला साइज सम्मका झोलाहरु उनले बोकेका छन् । लगनखेलको ब्यस्थ बजारमा हरेक दिन निथ्रुक्क पसिनाले भिजेरै उनी झोलाको ब्यापारमा ब्यस्थ रहन्छन ।
भोजपुर, च्याङग्रे गाविस वडा नं ४ का राजकुमार विष्टले २०६२ सालमा एस.एल. सी पास गरेपछी उच्च शिक्षा लिने सुनौलो सपना बोकेर काठमाडौं छिरेका थिए । पाटन संयुक्त क्याम्पसमा सोही बर्ष आई. ए मा भर्ना त भए तर घरबाट पैसा आउने स्थिति नभएकाले उनी कामको खोजीमा लागे । काठमाडौं आएको केही समय उनी कामको खोजीमा धेरै तिर भौँतारीए तर भनेजस्तो जागिर भेट्टाउन सकेनन् । पैसाको अभाव थियो, व्यापार गर्नका लागि समान किन्न र पसल खोल्न सक्ने स्थिति नभएपछी एकजना चिनेको झोला ब्यापारी सँग उनले झोला मागे र कमिसन पाउने आधारमा आफ्नै शरिरमा राखेर बिक्री गर्न थाले ।
कत्तिको ग्राहो हुन्छ त दिनभरी यति धेरै झोला बोक्दा ? उनी भन्छन–“ धेरै थकाइ लाग्छ नी । पसिनाले निथ्रुक्क भिजिन्छ , प्रत्येक दिन लुगा धुनुपर्ने हुन्छ । हात खुट्टा कटकट खाने, पेट दुख्ने समस्या बढ्दै छ । अझ गर्मि महिनामा त धैरै गाह्रो हुन्छ ”। उनले यो पेशा अपनाएको पनि छ बर्ष भन्दा बढी भइसकेछ । अहिले भने उनले आफैले लगानी गरेर झोलाहरु किनेका छन् । आजभोली प्रत्येक दिन उनको जिउमा दश हजार मूल्य जतिको झोलाहरु हुन्छन । उनका अनुसार सिजन अर्थात बैशाख–जेठ र दशैं–तिहारको समयमा दैनिक १२ देखि १५ ओटा सम्म झोला बिक्री हुन्छ भने अरु बेला दैनिक ५ देखि सात ओटा सम्म झोला बिक्री गर्छन । कति हुन्छ त कमाई ? “कमाई पनि ठिकै हुन्छ । महिनामा त्यस्तै नौ दश हजार हुन्छ । पाँच हजार जति चाँही बचत भैरहेको छ” उनी भन्छन । काममा लागेपछी पढाई रोकिए पनि उनको भविश्यको योजना ब्यापार क्षेत्रतिरै लाग्ने छ । गत वर्ष मात्रै बिहे गरेका उनले श्रीमतीलाई उतै गाउमै छोडेका छन् । अब केही पैसा जम्मा गरेर उनले दुवैजना मिलेर काठमाडौंमा कपडा पसल खोल्ने योजना बनाएका छन् ।
त्यस्तै मकवानपुर, टिस्टुङ–७ का ३३ वर्षीय हरीकृष्ण श्रेष्ठ पनि प्रत्येक दिन ३५ ओटा जति झोला जिउभरी भिरेर ब्यापार गर्न लगनखेलको सडक पेटीमा उभिन्छन् ।
भारत, रक्सौलका मनोज शाहले एउटा चारपाटे काठको बाकस डोरीको सहायताले आफ्नो घाँटीमा झुन्ड्याएका छन् । सो बाकस महिलाले कानमा लगाउने थरी–थरीका टपहरुले टन्न भरिएको छ । एक हजार जति लगानी गरेर किनेको टप बाकसमा राखेर प्रत्येक बिहान सात बजे देखि बेलुका सात बजे सम्म सडकमा उभिएर ब्यापार गर्दैमा उनको दैनिकी बित्ने गरेको छ । कति हुन्छ त महिनाभरीको कमाई ? “खाएर महिनामा पाँच-छ हजार बचाँउछु ।” उनी भन्छन । साउन महिना लागेपछी कानमा लगाउने टप बढी बिक्री भएको उनको अनुभव छ । दुई बर्ष अगाडि देखि शुरु गरेको टपको ब्यापार राम्रो हुने देखेर उनी यही पेशामै रमाइरहेको बताउँछन ।
“लौ आयो चिसो–चिसो पानी” । एउटा हातमा २ ओटा पानीको बोतल अनि अर्को हातमा पाँच-छ ओटा पानकिो बोतल राखिएको झोला बोकेर लगनखेलको बसपार्कमा कराउदै हिँडिरहेका भेटिन्छन्–भारत दरभंगाका ४० बर्षिय मुन्ना भागवत ।
उनी काठमाडौं आएको नै १३ वर्ष भैसकेछ । शुरुमा चना, केराउ, बदाम, चना–चटपटेको ब्यापारमा लागेका उनी पछी थोरै लगानीमा धेरै फाइदा हुने देखेपछी पानीको ब्यापारमा लागेका रहेछन् । घाम लागेको दिन बढीमा १० बाकस अर्थात १२० लिटर जति पानी बिक्री गर्ने गरेको उनी बताउछन् । उनको दैनिक कमाई बढीमा एक हजार र घटीमा पाँच÷छ सय सम्म हुने गरेको उनी बताँउछन् । पानी बेचेर हुने उनको आम्दानी नेपालका सरकारी अधिकृतको तलव स्केल बराबर पुग्ने देखिन्छ । एस.एल.सी उर्तिण गरेका उनले अहिले यही पानी बेचेको भरमा आफ्ना ४ जना सन्तानलाई राम्रै सँग पढाइरहेका छन् । छोरा–छोरी कति–कति कक्षामा पढ्छन त ? उनी भन्छन–“जेठो छोरा मारवाडी कलेज भारतमा आई.एस्सी. दोश्रो वर्षमा पढ्दैछ । अर्को छोरा पनि भारतकै राज स्कूलमा कक्षा ९ मा पढ्छ । छोरी नमुना मच्छिन्द्र स्कूल लगनखेलमा कक्षा पाँचमा र सानो छोरा पनि २ कक्षमा पढिरहेको छ ।” उनी प्रत्येक दिन ११ बजेदेखि ४-५ बजेसम्म खट्ने गरेको बताउँछन् । जाडो महिनामा दिनको जम्मा दुई बाकस मात्र पानी बिक्री हुने भएकोले त्यो समय जुन काममा बढी फाइदा हुन्छ त्यही काम गर्ने उनी बताउछन् ।
जीउभरी सामान राखेर विक्री गर्नेहरु मध्ये सिरहा, बन्दिपुरकी भगवती भट्टराई पनि एक हुन । कक्षा ८ सम्म पढेकी २२ वर्षिया उनले आफ्ना श्रीमान लेखनाथ भट्टराई सँगै लगनखेल बसपार्कमा झोलाको ब्यापार गर्न थालेको एक वर्ष भैसकेको छ
अहिले उनी प्रत्येक दिन १३ हजार मूल्यको ३ वटा राडी बोकेर ब्यापारको लागि चावाहिलको डेराबाट निस्कन्छन् र बिक्रीको लागि घर–घर पुग्छन् । कस्तो छ त राडीको ब्यापार ? “पहिला–पहिला त धेरै बिक्थ्यो, अहिले चाइनिज गलैँचा आएपछी त्यति धेरै ब्यापार हुँदैन । महिनामा त्यस्तै छ÷सात हजार बचत गर्छु” । उनी भन्छन् । अहिले यही राडीको ब्यापारबाट चावाहिलमा २ वना नातिहरुलाई पनि पढाइरहेका उनी अझै दुई–तीन वर्ष यसरी नै ब्यापार गर्ने शुरमा छन् ।
प्रेम बहादुर भुजेल, वर्ष ४१ । आज भन्दा करिब २२ वर्ष अगाडि ४६ सालको जनआन्दोलन सकिए लगतै उनी मोरङबाट काठमाडौं छिरेका थिए । काठमार्डौ आएपछी रिक्सा चलाउने देखि हरेक काम गरेछन उनले । तर आजभोली उनको जीउभरी सरसफाइका लागि प्रयोग गरिने सामानहरु छन् । कम्प्युटरको धुलो हटाउने , घरको भूँइ पुछ्ने देखि बाथरुम सफ ागर्ने ब्रस लगायतका सामानहरु उनले बोकेका छन् । आफैले लगानी गरेको सो सामान लगभग ३ हजारको जति पर्ने उनी बताउछन् । बिहान १० बजे देखि बेलुका ७-८ बजे सम्म उनको जीउमा यि सामानहरु रहने गर्छन । दरबारमार्ग, रत्नपार्क देखि जाउलाखेल लगायतका क्षेत्रहरुमा त्यि सामान बेच्न हिड्दैमा उनको दैनिकी बित्ने गरेको छ । कति हुन्छ त कमाई ? उनी भन्छन–“कहिले सय रुपैया पनि कमाई हुँदैन, कहिले दिनको ३-४ सय सम्म पनि हुन्छ ।” डेरा भाडा २ हजार तिर्ने गरेका उनले दुई जना छोरीलाई पनि पढाइरहेका छन् । “छोरो कक्षा एकमा र छोरी नर्सरीमा पढछे, उनीहरुलाई पढाउन पनि मुस्किल होला जस्तो छ ।” उनी भन्छन ।
छ वर्ष भयो उनले यो पेशा थालेको । शुरुमा सडकपेटीमा राखेर ब्यापार गर्दा नगर प्रहरीले दुख दिएपछी उनले आफ्नै जीउमा सामान राखेर ब्पापार गर्न थालेका रहेछन् । मोरङमा एयटा सानो घर मात्र रहेको र जग्गा जमिन केही पनि नभएकोले उनी काठमाण्डौं छिरेका रहेछन् । २ छोराछारी, श्रीमती र उनी सहितको चार जनाको सानो परिवार अहिले काठमाडौंमा गुजारा गरिरहेको छ । कस्तो छ त काठमाडौंको दुःख ? “दुःख त धेरै छ नी हजुर, तर पनि सानो तिनो, केही न केही काम गरेर पनि यहाँ बाँच्न चै सकिदो रहेछ ।” उनले सुस्केरा हाले ।
२०६८ श्रावण २५
काठमाडौँ ।



