
आदरणीय राष्ट्रपति ज्यू ,
त्यो साँझ अफिसबाट म एकदमै थाकेर फर्किएको थिँए । लोडसेडिङ् भए पनि मेरो रुम पार्टनर स्याडस्टोनको अनुहार अरु दिन भन्दा एकदमै चमकदार थियो । उ यसरी खुसी भएको मैले जिबनमा कहिल्यै देखेको थिइन ।
“अरे, तैले त आज पुरै भाँडा माझेर यतिचाँढै खाना पनि बनाइसकिछस् । हैन यो के आश्र्चय” ?
“आश्र्चय मान्नुपर्दैन यार । आज मैले यस्तो महत्वपूर्ण काम गरेँ, त्यो सुनेर भोली संसारमा मेरो नाम चल्नेछ । साँच्चै एउटा तरङ्ग उत्पन्न हुनेछ ।
स्याड स्टोन र मेरो बीच पहिलो संबाद यस्तै भएको थियो । अचम्म ! उ भाँडा मस्काउन साह्र्रै अल्छि । बिहान देखिको जुठो भाँडा मैले मस्काएपछी मात्र उ बल्ल तल्ल खाना बनाउन अघि सथ्र्यो । उसको कार्यशैलीमा यस्तो नाटकीय परिबर्तन देखेपछी म तिन छक्कै परेँ । झन उसले त्यस दिनलाई महत्वपूर्ण दिन भनेकोले पनि मनमा सक्सक् लागिरह्यो ।
–हैन तैल किन आजको दिनलाई महत्वपूर्ण भनेको ? भाँडा माझेर आफैँले खाना पकाएको भनेर हो ?
–हैन, मैले आज बाटोमा सय रुपैयाँ भेट्टाँए ।
–ओ हो, जाति भएछ यार । अझ हजार रुपैया नै भेटेको भए हुन्थ्यो नी ? जाबो एउटा बियर पनि नआउने के पैसा भेटेको ?????
–सय रुपैँया भए पनि नयाँ नोट थियो यार ।
–ठीकै छ । तेल सकिन लागेको रहेछ । चिनी पनि अलिकति मात्रै रहेछ । भोली बिहानै हाफ लिटर तेल र चिनी ल्याउनुपर्छ बुझिस् ।
–मैले त त्यो पैसा फिर्ता गरिसकेँ ।
–फिर्ता गरिसकेँ रे ?!! गरिस फिर्ता ? कसरी गरिस ???बाटोमा भेटेको पैसा कसको हो कसको ????
मैले यसो भनेपछी उसले पुलिसको सामु बयान दिए झै भन्न थाल्यो–हामी क्याम्पस जाने बाटो नजिकै मैले एक सय रुपैया भेटेको सहि साँचो हो । पैसा भेट्टाएपछी मलाई त्यो पैसा हराउने मान्छे प्रति एकदमै दया लागेर आयो । निकैबेर पैसा ओल्टाई पल्टाई हेरिरहँे । पैसाको अलिकति ठाँउमा फोन नंबर लेखेको रैछ । मोबाइलमा ब्यालेन्स एक सुको थिएन । नजिकैको पसलमा गएर फोन गरेँ । अनि उस लाई बसपार्क सम्म आउनुस भनेँ । एक घण्टा पछि उनी त्यही आए । मैले लिनुस तपाँईको सय रुपैया भनेर दिँए । उनी साह्रै हतास देखिएका थिए । उनले मलाई तुरुन्तै रु. १० को नोट उपहार दिन खोजेका थिए , मैले पर्दैन–पर्दैन भनेँ । उनी त साह्र्रै खुसी भएर गएका छन् ।
स्याडस्टोनको कुराले म ताजुप भएँ । हैन यो मान्छे त यस्तो इमान्दार थिएन । कहिलेकाँही बजारबाट तरकारी किनेर ल्याउदा समेत कमिसन निकालेर मलाई नै बढी पैसा तिराँउथ्यो । घरबेटीलाई भाडा तिर्न पनि कहिल्यै अघि सर्दैनथ्यो । केहो–केहो, यो मायाको संसार बिचित्र भन्याजस्तो । खाना खाने बेलामा उसले भन्यो–मैले गरेको कामबारे सबैतिर जानकारी गराउन पत्रकार सम्मेलन गर्दा कस्तो होला ?
–ठिकै होला । आजभोली मान्छेहरु एउटा सिन्को सम्म पनि भाँच्दैनन् । हामीले त्यो ग¥यौँ, उ ग¥यौँ र भोली उसो गर्छौभन्दै पत्रकार सम्मेलन गर्छन । तेरो बिचार ” मैले भनेँ ।
–पत्रकार सम्मेलन गर्न खर्च कति लाग्छ यार ?
–लाग्छ नी पैसा त । एउटा सामान्य पत्रकार सम्मेलन गर्ने हो भने पनि कम्तिमा पाँच–दश हजार त लागिहाल्छ । सबै म जस्तै पत्रकार कहाँ हुन्छन र ? चिकेन रोष्ट, पिज्जा, बर्गर आदी इत्यादी नानाभाँती खाजा खान खोज्छन । अझ कोही त उनीहरुलाई बोलाएबापत खामबन्दी पैसा पनि माग्छन ।
स्याडस्टोन तिन छक्क प¥यो–भो यार भो, यो पत्रकार सम्मेलन गर्न सक्दिन म । बरु तैले काम गर्ने साप्ताहिक पत्रिकैमा भएपनि मेरो बारेमा एउटा समाचार चै बनाउनै पर्छ बुझिस् ।
–सय रुपैया भेट्टाएको कुराको पनि के समाचार लेख्नु ? यो हुन सक्दैन । हाम्रो पत्रिका यस्तो झारेझुरे समाचार लेख्ने पत्रिकै हैन । स्याडस्टोन गर्जियो– हो, हो गतिलो समाचार लेख्छ तेरो पत्रिकाले । नौटंकी नेताको पुच्छर । फलानो नेताले यसो भन्यो, तिलानो नेताले उसो भन्यो । यस्तै समाचार छाप्छौ तिमीहरु । गरिब जनताले दुःख पाएको समाचार लेख्न त तिमीहरुले अर्को जुनीमा पनि जान्दैनौँ । नलेखे नलेख मेरो बारेमा समाचार । भोलीदेखि भाँडा मस्काउने र खाना पकाउने डिर्पाटमेन्ट तेरो जिम्मामा ।
स्याडस्टोनले बाध्य बनाएपछी मैले आफू काम गर्ने साप्ताहिक पत्रिकामा भोलीपल्ट उसको बारेमा एउटा समाार लेखिदिँए । समाचार शीर्षक थियो–स्याडस्टोनले फिर्ता ग¥यो बाटोमा भेट्टाएको एक सय रुपैयाँ । त्यो समाचार पनि त्यस्तै पाराको थियो–कोहीले सस्तो समाचार मान्लान कोहीले दह्रो हाँस्यव्यङ्ग्य ।
डेरामा आएपछी स्याडस्टोनको बेडमा पत्रिका फ्याँकीदिँए । समाचार पढेपछी असाध्यै खुसी भएर मलाई गम्लङ्ग अँगालो हाल्यो उसले । अनि शुरु गरिहाल्यो भाँडा माझेर खाना पकाउन । त्यो समय मोरो स्याडस्टोन वास्तबमै ह्याप्पी फ्लावर भएको थियो । अनायास खाना पकाँउदा पकाउदैमा उसले एउटा संसय ब्यक्त ग¥यो– यो पत्रिका राष्ट्रपतिको घरमा पुग्छ कि पुग्दैन ? फेरी पुगेन भने त ....??
मैले भनेँ–नेपालको राष्ट्रपतिको घरमा मात्र किन इन्टरनेटमार्फत संसार भरीका राष्ट्रपतिको घर–घरमा पुगिसक्यो ।
–हो है ! ठीक गरिस यार तैले । वास्तवमा मेरो लागि संसारभरको सबैभन्दा ठुलो पत्रकार नै तै होस बुझिस ?
मैले फेरी भनेँ–भो,भो नफुक्र्या मलाई यसरी । बरु यसरी नै सधै भाँडा माझेर खाना बनाउने गर ।कति दिन मात्र म एक्लैले भाँडा मस्काउनु !!?
पत्रिकामा समाचार छापिएको दोश्रो दिन सम्म स्याडस्टोन खुसी नै थियो । तेश्रो दिन उ अलि निराश देखियो । सोधेँ–के भयो स्याडस्टोन ?
उसले दुःखी स्वरमा भन्यो–तेरो पत्रिका राष्ट्रपतिको घरमा पुगेनछ क्यारे । तैले मलाई ढाँटिस् कि ?
मैले भनेँ–भुगोलपार्कको बितरक यज्ञ दाइको हातमा पत्रिकाको दुई बन्डल मैले नै छोडेर आएको हुँ । उपत्यका बाहिर सम्म पुग्ने हाम्रो पत्रिका त्यहीँ शितल निवास सम्म नपुग्ने त कुरै हुँदैन । फेरी मैले तँलाई ऐलेसम्म कहिले पो ढाँटेको छु र ? बरु तँलाई किन राष्ट्रपतिकोमा पत्रिका पुगेन की भनेर चिन्ता हँ ?
उसले भन्यो– मलाई अहिले सम्म पनि राष्ट्रपतिको फोन आकै छैन भन्या । म जस्तो इमान्दार मान्छेलाई, बाटोमा भेटेको सय रुप्पे सम्म फिर्ता गर्ने मान्छेलाई तिनले फोन गर्नु पदैन ? के सय रुपैँया चाही पैसा होईन ??
ए ! कुरोको चुरो त यस्तो पो रहेछ । अनुजाको हावा मेराो कोठासम्म पनि आइसकेछ । तर स्याडस्टोनले भेट्टाएको भनेको सय रुपैया साँच्चिकै फिर्ता नै पो गरेको हो की ? मलाई उसको अबस्था देखेर साह्रै दया लागेर आयो । तर त्यति धेरै इमान्दार चै हैन स्याडस्टोन पनि । कत्तिपटक मेरो सिरानी मुनीको पैसा उढाएर म.म. उढाउने गरेको कुरा त मलाई साम्रै संग थाहा छ ।
तेश्रो दिन उसले धुँइपत्ताल गरेर राष्ट्रपतिको मोबाइल नंबर भेट्टाएछ अनि थालेछ मिस्ड कल गर्न ।
जति मिस्डकल गरे पनि रिप्लाई नहुँदा उ अहिले बढो सुर्तामा परेको छ । उसै त पिलन्धरे, अलि बढी टेन्सन लिएर हल्का ज्वरोले पनि उसलाई गाँज्न थालेको छ । हिजो अस्ति मैले भाँडा मस्काइदिएपछी खाना त बनाईदिन्थ्यो । अहिले त दुबै काम छोडिसक्यो उसले । थोरै मात्र खाना खान्छ र सुतिरहन्छ जतिखेर पनि । बेला–बेलामा बर्बराउछ–“ मलाई राष्ट्रपतिको फोन कहिले आँउछ ?” अहिले उसको स्थीति झन्–झन् नाजुक हुँदै गैरहेको छ । जसरी भएपनि स्याडस्टोनलाई बचाइदिनुप¥यो । लौन राष्ट्रपति ज्यू एक कल फोन गरिदिनुप¥यो ।