
स्याडस्टोनले बी.ए. पास गरेछ । बिहान म उठ्दा डेरामा बस्ने प्रत्येक छिमेकीहरुलाई मिठाई बाँड्न समेत भ्याइसकेछ उसले । मिठाई पनि कहाँ तिलको लड्डु हो र ? एक–एक डल्ला म.म. । भेज खानेलाई भेज बफ खानेलाई बफ । मैले यहाँलाई यो जानकारी गराइरहनु पर्दैन कि स्याडस्टोन र म.म. एक अर्काका परिपुरक हुन भनेर ।
उठेर मुख धुँदै थिँए । उ एउटा गित गुन–गुनाउदैँ थियो–
छोरी देउ....छोरी देउ
छोरी देउ लौन मलाई
रेशमी..रेशमी..रेशमी
रेशमी अंगालोले बेरीदेउन मलाई
“अच्छा स्याडे ! तँ आज यस्तो रोमान्टिक किन हँ ?” मैले भनेँ । स्याडस्टोनले चिया दिँदै सुस्तरी भन्यो–“ मैले बी.ए. पास गरेँ थाहा छैन तँलाई , अब बिहे पनि पास गर्नु प¥यो नी ? त्यसैले पल्लो कोठाको त्यो बुढाले सुन्ने गरी गा’को । त्यसकी छोरी क्या च्वाँक छे यार !” मैले भनेँ– “तँ पनि महाँको कन्याराशी हुन लागिस यार !” उसले रिसाउदै भन्यो–“उसको बाउले खै हामीलाई संबिधान दिएको ? सभासद हो नी उसको बाउ । अब त्यो बुढाले कि मलाई छोरी दिनुपर्छ बिक नयाँ संबिधान ।”
स्याडस्टोन दिँउसो कहाँ जान्छ मलाई थाहा हुन्न । त्यो साँझ म एक्लै टिभी हेर्दै थिँए । आश्र्चय ! म एउटा घोर ठुलो आश्र्चयमा परेँ । टेलिभिजनमा त स्याडस्टोन देखियो । पुरै सडक जाम गरेर उ एउटा जुलुसमा भाषण गरिरहेको थियो–
आदरणिय उत्पीडित यूवा साथीहरु,
हाम्रो संगठन उत्पीडित अबिवाहित यूवा संञ्जाल यि सभासद सभासदनी सँग के कुराको जोडदार माग गर्दछ भने– हामीलाई छिटो भन्दा छिटो संबिधान देउ । यदी समयमा संबिधान दिन सक्दैनौँ भने तिमीहरुका छोरीहरु वा तिमीहरुका आसेपासे, नातागोताका तरुनी छोरीहरु, हामी अबिवाहित यूवाहरुलाई कन्यादान गर ।
जोडदार ताली बज्छ, स्याडस्टोन एक पलक मुस्कुराएर फेरी औंला उचालेर भाषण गर्न थाल्छ । उसलाई चारैतिरबाट क्यामेराहरुले निसाना लगाइरहेका थिए । “साथीहरु, म अझै के भन्न चाहन्छु भने–हामीले आन्दोलनमा लड्दै पढ्दै बी. ए. पास ग¥यौं, हामीले टायरको गन्ध सुँघ्दै एम.ए ग¥यौँ । हुनेवाला ससुरा बाहरु लाई छोरी देउ भन्दा–“जब देशमा नयाँ संबिधान बन्छ, तब तपाँईलाई छोरी पक्का” भन्ने गर्छन । उनीहरु भन्छन्–“के छ तिम्रो सरकारी जागिर ? के छ तिम्रो राजनीतिक हैसियत ? वा तिमी कुन डन संग आबद्ध छौ” ? यस्ता तिखा बचनले घाइते भएका सारा यूवाहरु अब चुप लागेर बस्नु हुन्न । अब हामीलाई छिट्टै संबिधान चाहिन्छ । यदी समयमै संबिधान दिन सक्दैनन् भने यिनिहरुले हामीलाई छोरी दिनुपर्छ” ।
टेलिभिजनमा उसको यति भनाई राखेपछि समाचार बाचिकाले भनिन्– भोली उत्पीडीत यूवा संञ्जालको आयोजनामा उपत्यका बन्द हुनेछ ।
उफ ! फेरी बन्द ।
भोली हिँडेरै अफिस पुग्नुपर्ने भो । कोठामा त आओस त्यो स्याडे ! एक लात जमाइनछु भने । कत्ति न नेता भएको । टि.भी. बन्द गरिदिँए र सुँते अनि पुगेँ एउटा स्वप्नलोकमा–
एउटा चिटिक्क परेको बिलासी कोठा । जहाँ ठुलो ऐना, त्यस वरीपरी मेकअपका सामानहरु बग्रेल्ती छन् । भित्तामा सभासद् ज्यूको ठुलो फ्रेममा गाला फुलाएर मुस्कुराइरहेको फोटो छ । एउटी यूवती लामो सिल्की केश, बदामे गाजलु आँखा, टिमिक्क परेको भेष्ट र स्कटमा सजिएकी छे । प्राय शहरमा यस्ता यूवतीलाई च्वाँक शब्दद्धारा संबोधन गर्ने गरिन्छ । तर अहिले उनको त्यो अनुहार भरी चिन्ताका फेयर एण्ड लब्ली पोतिएको थियो । वर्तमान राजनीतिक दुश्चक्रका कारण वा भनौँ स्याडस्टोन नेतृत्वको उत्पीडित अविवाहित यूवा सञ्जालका कारण उनी नजरबन्दमा जस्तै परेकी थिइ ।
उ कोठाको एउटा देवीको चित्र अगाडी क्वाँ..क्वाँ.. रुँदै हात जोडेर याचना गरीरहेकी थिई– “म किन सभासदकी छोरी भएँ ? हे सन्तोषी माता प्लिज मलाई सन्तोष पार । मेरो ड्याडीले संबिधान बनाइस्येन भन्दैमा हाम्रो अधिकार खोस्न यि मोराहरुलाई कसले अधिकार दियो ? यिनिहरुको डँडाल्नो भाँच्न किन पुलिसहरु अघि नसरेका ? हे मातेश्वरी सन्तोषी, तिमीलाई कोटी–कोटी नमस्कार छ । हामी सभासदका छोरीहरुलाई यि लफङ्गा मोराहरुबाट मुक्त पारीदेउ । तिमीलाई कोटी–कोटी नमस्कार छ । धुप र दियो बाली । उस्लाई पाँउ अचाक्ली मिठो लाग्थ्यो । सन्तोषीमाता अमिलो स्वादको घोर बिरोधी हुनाले उ पाँउ समेत त्यागेर भक्तिभावमा लीन भैरहन्थी । पूजा पाठ सकेर झ्यालबाहिर हेरी । बाहिर उत्पीडित अविवाहित यूवा सञ्जालका कार्यकर्ताहरुको जुलुस नारा लगाइरहेको थियो–
कि त छोरी देउ
कि त संबिधान
एउटा कस्तो स्थीति सिर्जना भयो भने सारा सभासदका छोरीहरु घरभित्रै लुकेर बस्नुपर्ने बाध्यतामा परे । बाहिर निस्किए उत्पीडित यूवा सञ्जालका कार्यकर्ताहरुले अपहरण गरेर भए पनि बिहे गर्न थाले । उनीहरु बाटो घाटोमा असुरक्षित हुन थालेपछि एकातिर सरकारले सभासदका एक छोरी बराबर दुई जना सशस्त्र प्रहरी गार्ड उपलब्ध गराउने निर्णय गर्दै थियो भने अर्कोतिर तरुनी केटी सबहे गर्न पाइन्छ भन्दै चालिस–पैतालिस कटेका अविवाहित कुमारहरु पनि सो सञ्वालको सदस्य बन्दै जुलुसमा सहभागी हुँदै थिए ।

प्रत्येक सभासदका निवास अगाडी उक्त अविवाहित यूवा जत्था कि संबिधान देउ कि छोरी भन्दै नारा लगाउदै निरन्तर धर्नामा बसेपछी पुलिसका लौराहरुका कन्सीरीका रौँ तातेर आउन थाल्यो । जुलुसमाथि भटाभट पुलिसका लौराहरु बजारिन थाले । अश्रुग्याँस प्रहार भयो । स्याडस्टोन सबैभन्दा अग्रपंतिमा थियो । उसको टाउकोमा लगातार पुलिसले लाठी हानन थाल्यो । रगताम्मे भएको स्याडस्टोन चिच्याँउदै भुँईमा ढल्यो । म पनि बेस्सरी चिच्याएछु–“स्याडस्टोन”! मेरो स्वप्न यात्रा भंग भयो । बिहान पो भैसकेछ ।
ढोकामा अशान्तिका खबरले भरीएको शान्तिपुर दैनिक आइसकेको रहेछ । मुख पृष्टमै स्याडस्टोनलाई साथीहरुले काँधमा बोकेको, फूलमालाले ढपक्कै ढाकिएको फोटो सहित यस्तो समाचार छापिएको थियो–
उत्पीडित अविवाहित यूवा संजालका अध्यक्ष स्याडस्टोनलाई एक बरिष्ट सभासदकी छोरी दिने निर्णय भएपछी दुई साता लामो आन्दोलन रोकिने भएको छ । आन्दोलनकारी र सभासदहरु सहित साँझ होटल हायतमा बसेको बैठकले अबको दश बर्षमा पनि संबिधान बन्ने संभावना नभएको कारण एक बुँदे सम्झौता गर्दै स्याडस्टोनलाई बेहुलो बनाउने निर्णय गरेको हो । अर्कातिर संगठनमाथि स्याडस्टोनले गद्धारी गरेको भन्दैै एक समुहले उहँका हुनेवाला ससुराको पुत्ला जलाउदै आन्दोलन नरोकिने जनाएको छ । साथै..........
जे भएपनि उ अब सभासदको ज्वाँई हुने भयो । म पनि सभासदको ज्वाँइको साथी हुने भएँ । यही नातामा अब कसो एउटा भन्याजस्तो जागिर नपाइएला त ? यही सोच्दै, खुसीले रमाउदै चिया पकाउदै थिँए म । ढोकामा टुप्लुक्क स्याडस्टोन आइपुग्यो । अबिरले रात्ताम्मे भएको, फुलको माला लगाएको उसलाई बधाई दिँए । उसले भन्यो– “थ्याङ्क्यु यार, थ्याङ्क्यु भेरी मच, तर एउटा कुरा दुख नमान है?”
मैले भनेँ–“के कुरा” ?
उसले भन्यो–“तीन दिन पछी मेरो धुमधाम सँग बिहे हुँदैछ । तँ अब अर्कै कोठा खोजेर बस् । भोली सम्म खोजीसक्नु । तेरो सामान जति छ, मिलाएर लैजानु ।”
उ यति भनेर हिँडिहाल्यो । म छाँगाबाट खसेजस्तो भएँ । अब कहाँ खोज्ने डेरा ? संबिधान समयमै नबनेको सारा पीडाको थुप्रो त मै माथि पो खनियो । सायद समयमै संबिधान बनेको भए माथिका जस्ता घटनाक्रमहरु घट्ने थिएनन् र आज मैले यसरी डेरा खोज्न भौँतारीनु पर्ने थिएन । ए हजुर ! छ कतै तपाइहरुको आस–पास तिर एउटा डेरा ? भए लौन यसमा इमेल गर्दिनुस–jrshambhu@yahoo.com