साँच्चिकै भन्नुपर्दा केही समय आफ्नो ब्लगलाई नै बिर्सेछु मैले । ब्लगको यूजरनेम त सही हानेँ तर पासवर्ड भुसुक्कै । किर्बोडमा औला राखेर केहीबेर घोत्लनुप¥यो मलाई ।
आज यो ब्लगमा केही लैख्न खोज्दैछु । जसको श्रेय मैले मेरो स्कूलको सहपाठी ज्ञानेन्द्र ढकाललाई दिनुपर्छ । केही दिन अघि मैले उनीसँग लामो अन्तरालपछि फोनमा हाईहेल्लो गरेको थिँए । प्रसंगबस उनले मैले ब्लगमा पोष्ट गरेका केही कुरा निकै रोचक लागेको बताउदै अरु पनि लेख्न उत्प्रेरीत गरेका थिए ।
सोचेँ, लेख्नका लागि म सँग अथाह विषयबस्तुहरु चाँङ्गका चाङ्ग छन् । २६ बर्षे जीवनमा हाम्रो समाजका धेरै थरी पात्र र पक्षसंग हेलिएको छु, समाजका नौरंगी अनुहारहरु पढेको छु । धेरै किसिमका अनुभव र अनुभूतिहरु संगालेको छु । मलाई लेख्ने नै हो भने केही कुराको खाँचो छैन् ।
म पनि स्वयं पनि अलमलिएको छु, के चाही लेखौँ त आज ?................
मैले मेरो जीवनको पहिलो जागिरको बारेमा लेख्ने बिचार गरेँ । पहिलो जागिरका भोगाई अनुभूति र रोचक
क्षणहरुबारे । शीर्षक दिन किन कञ्जुसाँई गर्नु–
मेरो जीवनको पहिलो जागिर
तिनताक म ठ्याक्कै पन्ध्र बर्ष पुगेको थिँए । सोह्रमा हिड्दै गरेको । आजभन्दा ठ्याक्कै १० बर्ष अगाडिको कुरो । अहिले त मेरा गालामा सिँउडीकाँढे दारीजुङ्गा छन्, त्यतिबेला रेशमी भुवाझैँ । र मेरो सोचाई, बिचार, भावना पनि रेशमी भुवा टाइपकै थिए होलान झै लाग्छ ।
साँखुको भाग्योदय मावी परिक्षा केन्द्रबाट भर्खरै एसेल्सी जाँच सकाएको थिएँ । एसेल्सी सकिएपछि जागिर खानुपर्ने कुरा भइरहन्थ्यो घरमा । मेरा गाँउले यूवाहरु शहर गएर माडेकोमा जागिर खाने गर्थे । शहरमा जे काम गरे पनि गाँउ जाँदा चिटिक्क परेर जान्थे र शहरीया लवजमा कुराकानी गर्थे । मलाई पनि खुब रहर लाग्थ्यो जागिर खान ।
जाँच सकिइहाल्यो । बा बुढाको पनि आस थियो–छोराले सहराँ माडे (मारवाडी) को मा जागिर खाओस र मनलाग्दो, अघाँउजी पढोस् । मेरा बाको आखाँभरी यिनै र यस्तै खाले सापनाहरु नाचिरहेका हुन्थे ।
जागिर कस्तो खाने , कसरी खाने केही मेसो थिएन ।
मेरो निम्ती यो संसारमा जागिरका लागि कराउन मिल्ने एक मात्र बिकल्प मामा थिए । काठमाडौको ठमेलमा जागिर खाने साइला मामा ।
एकदिन सोध्दै खोज्दै पहिलो पटक ठमेल पुगेँ । ठमेलमा २–३ घन्टा रिंगिएपछि मामाको काम गर्ने ठाँउ देखेँ । मामाको टुरिष्टहरुका लागि बिक्री गरिने कपडा र ट्रेकिङ्गका सामानहरुको पसलमा पुग्नेबिक्तिकै दुध चिया मगाएर भन्जाको सत्कार गरे ।
मैले मामालाई जागिरको कुरो उप्काँए । त्यस्तै २० मिनेट जति त¥याङ्ग–म¥याङ्ग कुरा गरे । अनि एकछिन पछि ल हिँड जाँउ भने ।
सोचेँ–मामाले मलाई उनको डेरामा लग्ने भए ।
मामाको पछि–पछि लाँगे म ।
अलि पर पुगेपछि एउटा पसलमा तरकारी र २ ओटा समोसा मगाए । उनले चुरोट सल्काए । तरकारी र एउटा समोसा खाँए । उनले एकसयको नोट साहुजीलाई दिएपछि त्यसबाट फिर्ता आएको खुद्रा पैसा खेलाँउदै अघि लागे ।
म पछि पछि लाँगे ।
केही क्षण हिँडेपछि अलि ठूलो बाटो आयो ।
हामी सडक किनारामा एकछिन उभ्भियौँ ।
सोचेँ–हामी बाटो काट्दैछौँ र मामाकोमा जाँदैछौँ ।
झट्पट् बाटो काटेर टनाटन मान्छे भरिएको एउटा बस मामाले रोके र भने–“ल चढीहाल” । म हक्तपक्त चढीहाले । ल समात भनेर हातभरी खुद्रा पैसा दिए मामाले । बस कुद्यो । मेरो जागिर पनि कुद्यो ।
कुदिरहेको बसभित्र छक्क परिरहेँ ।
कन्डक्टरलाई सोधेँ–“यो बस कहाँ जाँदैछ ?”
“रत्नपार्क”
रत्नपार्कबाट साँखुको बस चढेर घर आँए ।
मामाले बस चढाएको ठाँउ–लैनचौर रहेछ, आजभोली बिचार गर्दा ।
यसरी मेरो जागिर ख्वाउने एकमात्र आशा र विकल्पको डोरी चुँडियो ।
+ + + +
बालाई केही थाहा थिएन कोदाली र खेत बाहेक ।
भन्नुहुन्थ्यो–“अब जागिर खोज” ।
एक किसिमको अन्योलताको जन्जाल थियो त्यो जागिरभित्र छिर्ने बाटो । जागिरको सारथी कोही थिएन । को हुन सक्ला भनेर घोत्लीरहन्थेँ ।
एसेल्सी दिने बेलामा साँखुको एउटा होटलमा चनाको तरकारी खाँदा मैले “कान्तिपुर पत्रिका”लाई चिनेको थिँए । त्यसको अगाडि पछाडी–यता उताको पाना भन्दा पनि बिच तिरको पाना मलाई औधी मन परेको थियो । त्यो अरुजस्तो चानचुने पाना थिएन, जागिर खुवाउने पाना थियो ।
त्यो पानामा जागिर खान चाहने मान्छे र फोन नंबर सहित तलब समेत लेखिएको हुन्थ्यो ।
त्यसपछि मैले त्यही पानालाई जागिर खोजिदिने आफन्त बनाउन खोजेँ ।
साँखु पुगेको बेला त्यही होटलमा गएर उही कान्तिपुरको सदगुणी पानालाई खाज्थेँ र रमाउथेँ । मलाई अब जागिर खानुको कुनै दुख्ख छैन् । यो नभए त्यो, त्यो नभए ऊ, मूला जागिर त कत्ति कत्ति ।
म सँग एउटा फोन नम्बर टिप्ने एउटा सानो फुच्चे डायरी जस्तो थियो । सालीनदी मेलामा किनेको पाँच रुपैयाँमा ।
त्यसमै मैले कान्तिपुरको बर्गिकृत बिज्ञापनमा मान्छे चाहियो भन्नेवाला नम्बरहरु टिप्थेँ र पसलमा गएर फोन गरेर सोध्थेँ–
कस्तो जागिर हो यो ?
दोश्रो प्रश्न हुन्थ्यो– पढ्दै काम गर्न मिल्छ कि मिल्दैन ?
चाबेलमा जागिर खुवाउने छनक देखायो एउटा नम्बरले । नम्बरमा बोल्ने मृदुभाषी अपरिचिताले १०० रुपैयाको फारम भरेपछि पक्का जागिर पाउने जस्तो कुरो गरिन ।
आमासँग २०० मागेर चलेँ चाबेलतिर । २–४ कल गरेर लोकेशन माग्दै जागिरको स्टेशन पुगेँ । पाइन्ट लगाएकी साह्रै सुन्दरी देखापरिन । तीनताक मात्र हैन, आइ.एड्. पास गरुञ्जेल सम्म पनि म पाइन्ट लगाउने सुन्दरीलाई साह्रै ठूलो मान्छे मान्थेँ म, बोल्न साह्रै डराउथेँ ।
के जाती हर्बल बेच्नुपर्ने जागिर रहेछ त्यो । बच्चामा त आमाको मामाघर हो की बुढामामाघर हो, रिमाल टोलमा हुने श्राद्धमा चार घरमा टिका लगाएर ४ सुका हात पारेपछि कहिलेकाँही हर्बल चकलेट खाएर रमाइन्थ्यो ।
बजार बजार गएर के जाती हर्बल बेच्ने जागिर खान पनि २० जनामका नाम निकाल्न पर्नेरे, नत्र सय रुपियाँ पच ।
सय रुपैयाँ चढाएर जागिर हात पर्छ भने त कमालै हुन्छ यार मामाको अगाडि भन्ने सोचेर त्यी पाइन्टधारी सुन्धरीलाई हात कमाई–कमाई सय रुपैँया चढाएर घर फर्किएँ । उनले फोनबाट जनाकारी दिन्छु भनेर फोन नम्बर मागेकी थिइन । नाङ्लेचीरमा त्यो कहाँबाट पाएर फोन हुनुँ नम्बर दिनलाई । फोन नभए एकहप्ता पछि आउने निम्तो गरिन उनले ।
एकहप्ता पछि आमासँग १०० रुपैयाँ मागेर फेरी चाबेल हान्निएँ । त्यी सुन्धरीले नाम ननिस्किएको र सय रुपैयाँच् पच भएको जानकारी दिएपछि म निराश मुद्राम पर्किएँ ।
घर आउनुअघि चुच्चेपाटीको पासाङ्गल्हामु शेर्पाको सालिकको एक फन्को लगाउने बिचारेर चुच्चेपाटी पुगेको थिँए ।
एक्कासी बाटोमा दुधसचिब किस्नेकाका भेट भए ।
उनले भने–“काँ हिडिस बज्जे”?
म त जागिर खोज्न हिँडेको । उनले भात खाइस कि छैन भनेर सोधे । र मलाई उनले पहिलो पल्ट शहरको होटेलमा लगेर भात खुवाए । भात खाउञ्जेलमा उनले जेठो छोरा रमेशको भन्दा पनि कान्छो छोरा दिनेशको पढाई फष्टक्लासको भएको बिभिन्न किस्साहरु सुनाइरहे ।
भात खाइसकेपछि भने–“पर्सी आइजो म तँलाई जागिरमा लगाइदिन्छु ।”
(बाँकी फुर्सद भाको बेलामा लेख्नेछु–छिट्टै)

Shambhu Dangal
ReplyDelete(मेरो जीवनको पहिलो जागिर)
एसेल्सी दिने बेलामा साँखुको एउटा होटलमा चनाको तरकारी खाँदा मैले “कान्तिपुर पत्रिका”लाई चिनेको थिँए । त्यसको अगाडि पछाडी–यता उताको पाना भन्दा पनि बिच तिरको पाना मलाई औधी मन परेको थियो । त्यो अरुजस्तो चानचुने पाना थिएन, जागिर खुवाउने पाना थियो......(बाँकी तलको लिंकमा क्लिक गरेर पढ्न सक्नुहुनेछ....।
MERO दुनियाँ: ब्लगमा केही लैख्न खोज्दैछु
yoduniya.blogspot.com
Like · · Unfollow Post · Share · Yesterday at 01:13 near Kathmandu
Seen by 13
Prakash Dhakal and Gyanendra Dhakal like this.
Mukunda Dahal अरुको एथार्थ कथा पढ्न बडा मज्जा हुन्छ शायद आफु सँग पनि मेल खायको भयर होला। अरु कुरो नि छिटो लेख्नु ल भाई।
यि कुरा हरु पडिरहदा त्यो भन्दा नि अझ पैलेको एक कुरोको याद गरौछु। सानु हुँदा तिमीलाई दुध खुवाउने कर्कौली मैले चोरेको याद आउछ अनी तिम्रो एक झुप्पो रबड (चुङी) मैले उधारोमा किनेर पछी रुपया न दियर तिम्रो हाम्रो घर भन्दा माथि बाटो मा झगडा गरेको र त्यो झगडा मिलौन आमाहरुलाई गुहारेको। एस्ता एस्ता कुरा सम्झिदा मलाई नि बडा आनन्द लाग्छ.
Yesterday at 06:48 · Unlike · 2
Gyanendra Dhakal Devkotale tyatikai lekhekaa hoinan pheri balak banna sakun bhanera!
Yesterday at 10:46 via mobile · Unlike · 1
Gyanendra Dhakal Ramailo and interesting 6 yo blog.
Yesterday at 10:47 via mobile · Unlike · 1
Prakash Dhakal शम्भु दाइको ‘मेरो जीवनको पहिलो जागिर’ मार्मिक लाग्यो । विषय वस्तु सामन्य भए पनि लेखन शैली बेजोड छ । थपलेखनका लागि शुभकामना ।
Yesterday at 12:17 · Unlike · 2