
गाँउबाट शहर छिरेको तेस्रो दिन ।
वा,
काठमाडौको एउटा गाँउबाट शहर छिरेको, मध्यपुर ठिमी नगरपालिका, भक्तपुरको पहिलो डेरा बसाई । सोह्र वर्षको थिँए ।
नमज्जा सँग मट्टितेलको स्टोभ बिग्रीयो । बेलुकासम्म त झ्यार्रर्रर्र्र गरेर बल्थ्यो । बिहान बालेर हेर्दा राँको मात्रै बल्न थाल्यो । बर्नरको सानो प्वालमा जति पिनले घोचे पनि काम लागेन । खाली कालो पिरो धुँवा मात्र आइरह्यो । घरमा त त्यै चिसो दाउरा परेको बेलामा मात्रै पिरो धुँवा हुन्थ्यो ।
मट्टितेलको भाउ पनि भर्खरै बढेको थियो । डर लाग्यो । त्यही अनुपातमा स्टोभ बनाएको ज्याला पनि बढ्ने होला । तै पनि दम दिएर हेरिरहेँ । झ्यार्रर्र्र बल्दे कस्तो मज्जा हुन्थ्यो । राँको बल्दा भाँडा पुरै कालो कालो हुन्छ । अझै यो भन्दा पनि अर्को डर । भाँडा भन्दा पनि धुवाले घरबेटीको कोठा बढी कालो हुन्छ । यस्तै लागे डरहरु ।
कोठा खाली होला हजुर भनेर सोध्दै गएको पहिलो दिन घरबुढीले सोधेकी थिइन– “ग्याँस छ कि छैन भाई ? नत्र त कोठा दिने गरेको छैन हामीले ।” त्यतिबेला ग्याँसको प्रचलन अलि कम थियो कि । मैले उनको प्रश्नको उत्तर मुख खोलेर दिन सकिन । मनमनै मात्र भनेँ–“ग्याँस छैन कसरी भनुँ , ग्याष्टिकको रोगी हुँ, पेट हुँडुँलिएर बेला–बेला नजिक बस्नेको नाकमा भूकम्प ल्याँउने ग्याँस निस्कन्छ ।”
नयाँ ठाँउ, स्टोभ कहाँ बनाइन्छ, केही थाहा थिएन । हातमा थोत्रो स्टोभ लिएर बजार बजार डुलियो । बल्ल तल्ल गड्ढाघरको साइकल मर्मत गर्ने एउटा पसलमा स्टोभको जिर्णोदार भयो ।
प्रसङ्ग भुकम्पकै ।
घरबेटीकी छोरीको नाइटो । आठ रेक्टरस्केलको भुकम्प ल्याउने किसिमको थियो । त्यसै भन्थे पल्लो कोठामा बस्ने साथीहरु । घरबेटीकी छोरी स्वर्गकै परी हो । पढ्न अल्छी लागेपछि उनीहरु आफ्नो कुरा शुरु गर्थे । घरबेटी चाँही राक्षसनी हो । दैत्यकी स्वास्नी हो । चौथो कोठामा बस्नेले भन्यो–स्वस्थानी कथामा आउने मय दानवकी छोरी हो हाम्री घरबेटी आमै । दोश्रो कोठामा बस्नेले विवाद निकाल्यो–हैन हैन रावणकी कान्छी बहिनी हो हाम्री घरबेटी आमै । जुन दानवकी छोरी भएपनि घरबेटी बुढी राक्षसनी हो भन्ने कुरामा सबैको एकमत हुन्थ्यो । तर कसरी जन्मी त्यो स्वर्गकी परी ? सबै अच्चम प्रकट गर्थे । सायद उनको पाठेघर र योनी विशेष प्रकारको थियो ।
हाँसोले त्यो घरको अन्तिम फ्ल्याट टन्नै भरिन्थ्यो ।
उनको एउटा विशेष शैली नै रहेछ–जे कपडा लगाएपनि नाइटो देखाएर हिड्ने । सायद उनको परिवारमा पनि उनको त्यो शैली पचिसकेको थियो । तर मलाई भने बढो अप्ठ्यारो लाग्थ्यो । घरबेटीकी छोरी बेला न कुबेला सलाई वा लाइटर माग्न आउथिँन । नाइटो देखाउनै पथ्र्यो उनलाई ।
हरे !...............
लाज बहुतै लागेर पानी पानी बनिन्थ्यो । सलाई त लैजाउन बरु माग्न नआउन ।
सायद उनी त्यतिबेला प्स टु कलेज पढ्थिन । उनलाई सोध्ने आँट गरिएन् । किनकी उनको तेश्रो आँखा सँग आफ्नो आँखा जुध्ला भनेर डर लाग्थ्यो । उनको नाइटोलाई हामी डेरावालहरुले तेश्रो आँखा नामाकरण गरेका थियौँ ।
एकदिन ।
सोली थिएन । स्टोभको पुन्टे ट्याङ्कमिा मट्टीतेल हाल्दै थिँए । एक चौथाई जति पोखियो । बाउले पसिना चुहाएर पठाएको पैसाबाट किनेको मट्टितेल पो गाँठ्ठे । एकछिनमै घरबेटीकी तिनै छोरी नाक थुन्दै आइन–”कुन कोठाबाट हो यस्तो मट्टितेल गन्हाएको, छ्या छ्या... ।” मेरो कोठामा हेरेर बारुले कम्मर मर्काउदै फर्केर गइन् ।
मैले भुँइमा सलाई कोरेर आगो लगाइदिँए । भुँइको मट्टितेल बल्दै थियो । मय दानवकी छोरी हुन वा रावणकी कान्छी बहिनी–घरबेटी बुढी ढोकामा आइन । “लौ हेर...हेर, घरै बाल्दिन लाग्यौ कि क्या हो भाइ तिम्ले त । मट्टितेल खन्याएर आगै सल्काएर । हेर..हेर गनाको । पुरै घर मट्टितेल गनायो भनेर छोरी सेन्ट छर्किदै छे । हिजो मात्रै बाउले पानसे हालेर ल्याउको सेन्ट सक्न लाइसकी । ग्याँस ल्याउनुपर्छ भाई ग्याँस । आको ४÷५ दिनमे के कोठा छोड भन्नु । यसरी त हुँदैन भाई । मट्टितेल बाले पनि नगन्हाउने तरिकाले पो बाल्नु पर्छ त ।”
ट्वाँ..................................।
मैले उनलाई ट्वाँ परेर क्वारक्वार्ती हेरीरहेँ । यति फतफताएर उनी हिँडिन ।
मैले सानो आवाज आउने गरी स्टोभ झ्यार्रर्र पारेँ अनि भात र एक भल्को तरकारी उमालेर छ÷सात घण्टा सम्मको लागि स्टोभबाट बिदा लिँए ।
खासमा म एस.एल.सी सकेर पढ्न आएको थिँए । सोह्र वर्ष सकेर सत्रमा पाइला चाल्दै थिँए । सानोठिमी शिक्षा क्याम्पसमा अंग्रेजी र नेपाली विषयमा आई.एड्. को कक्षा चलिरहेको थियो ।
सानोठिमी पछाडिको मगरगाँउ ।
तीनतले घर ।
पहिलो कोठामा म थिँए । दोश्रोमा रुकुमको भीमबहादुर खड्का, तेश्रोमा धार्दिङको कुन्नी के जाति तामाङ्ग र चौथोमा गोरखाको पोखरेल र अर्को एउटा साथी ।
तर चारैवटा कोठामा मट्टितेलवाला स्टोभकै आधिपत्य थियो । उनीहरुको स्टोभ राम्रो खालको थियो । मेरो चाँही अलि रोगी बुढो टाइपको ।
घरबेटी बुढी बिहानै गाइको दुध घर–घरमा पु¥याँउथिन । तर त्यसभन्दा अगाडि चार बजे देखि पाँच बजेसम्म उनको भजन किर्तन हुन्थ्यो–
ओम नमो भगवते वासुदेवाय !.......
ओम नमो भगवते वासुदेवाय !!.......
उनी यि प्रत्येक शब्दलाई बढो झोक्का दिएर उच्चारण गर्थिन । यो भजन हाम्रो लागि बिहान उठ्नका लागि एक किसिमको अर्लाम नै भएको थियो ।
उनको श्रीमान रिटायर्ड आर्मी थिए । कानमा सुनको ठुलै पातो झुन्ड्याएकी थिइन् । मट्टितेल सकिएपछि जानूपथ्र्यो ग्यालिन बोकेर गट्ठाघर वा बाहाखा बजारतिर । गोरखाको पोखरेललाई शहरको हावाले छोइसकेको थियो । क्याम्पसमा सँगै पढ्ने गरेका केटीहरु भेट हुन्छन् भनेर उ ठुलो झोलाभित्र ग्यालिन लुकाएर हिँड्थ्यो । म भने हातमै ।
यसरी बजारमा तरकारी लिन वा यस्तै मट्टितेल लिँन जाँदा उ घरबेटीकी छोरीको नाइटोको कुरा गथ्र्यो । उ भन्थ्यो–“त्यसलाई आफ्नो नाइटोप्रति ठूलो गर्व छ यार । त्यसको नाइटोमा हेरीदियो भने मुसुक्क हाँस्छे चन्डाल्नी । तैले कहिल्यै हेरिदिएको छस् ?” उ सोध्थ्यो । छैन यार, मलाई त डर लाग्छ । साँच्चै म त्यो नाइटो देखेर साह्रै डराँउथेँ । मुटु ढुक–ढुक हुन्थ्यो, उनी नजिक आँउदा भागेर टाढा पुगँु जस्तो लाग्थ्यो ।
येनकेन प्रकारेण, मेरो स्टोभ फेरी बिग्रियो । जति दम दिए पनि झ्यार्रर्रर्र गरेर बल्न छोड्यो । आधी भाग झ्यार्रर्र गरेर बल्थ्यो भने आधी भाग पाँचओटा टुकी बत्ति जोडेको जस्तै राँको बन्थ्यो । धुँवा पनि गजबले आँउने र भाँडा पनि उस्तै कालो बन्ने । साथीहरु भन्थे–“बर्नर फेरे ठीक हुन्छ ।” फेरी घरबुढी आएर कराउन थालिन–“यो स्टोभ सिस्टोभ फाल्देउ भाई । यस्तो स्टोभ बाल्नुभन्दा ग्याँस बाल्नुपर्छ । ग्याँस बाल्यो भने आयू बढ्छ । मट्टितेलको धुँवाले आन्द्रामा क्यान्सर पार्छ । अब कि कोठा छोड भाई कि स्टोभ ।”
यति भनेर उनी गइन् ।

त्यसै साँझ पल्लो कोठाको गोर्खालीलाई पनि घरबेटी बुढाले थर्काएछन् । पल्लोकोठाको भीम भन्दै थियो–गोर्खालीले घरबेटीको छोरीको नाइटोलाई एकोहोरो भएर हेरीरहेको घरबेटी बाले देखेछन् । अनि आफू नजिकै बोलाएर सुस्तरी झपार्दै भनेछन् – तैले काँ हेरेको हँ । बरु याँ हेर भन्दै आफ्नो यौनाङ्गतिर देखाएर पठाएछन् ।
उस्को कुराले थुक नै सर्किने हाँसियो ।
बेलुका गोर्खाली मेरो कोठामा आयो र भन्यो– “म त कोठा छोड्छु यार । मेलै भने–“अनि त्यो नाइटो नी ?”
“पर्खि न, त्यसको नाइटोलाई म एकदिन गोबरले टालिदिन्छु ।” उसले हाँस्दै भन्यो ।
त्यसै बेलुका सल्लाह भयो । सँगै मिलेर चारै जनालाई कोठा खोज्ने अनि एकैचोटी सर्ने । ६१ सालको कुरो । त्यस आसपासमा सस्तैमा छ्यालब्याल कोठा पाइन्थ्यो । चारजनालाई चारतिर कोठा खोजेर हामी पालैपालो एक अर्काको झिटीगुन्टा सार्न थाल्यौँ । घरबेटी बुढी रिसले रन्फनिँदै भन्दै थिइन्–“आफ्नै छेरलाई जस्तै कहिलेकाँही गाली गरेँ जस्तैमा रिसाउनुपर्छ त तिमीहरु ! तिमीहरुको अन्त गएरपनि केही भलो हुँदैन”...आदि इत्यादि ।
त्यो भूतपूर्व डेराबाट पाँच मिनेट पर मेरो नयाँ डेरा थियो । सामान सार्दा एउटा गुन्टाबाट थोपा–थोपा मट्टितेल चुहिरहेको थियो । अलि पर पुगेपछि घरबेटीको घर हेरेँ । कौसीमा केही चिज थियो । गोर्खाली पोखरेललाई पनि संकेत गरँे, उसले पनि उतै हे-यो र मुस्कुरायो । त्यो घरको कौसीबाट त्यै एउटी स्वर्गकी परी र उसको नाइटो हामीलाई हेरीरहेको थियो ।